Home समाचार सामाजिक सुरक्षामा व्यवसायीसँग गुहार, क्रिश्चियन धर्म प्रचारमा राज्यको दोहन
काठमाडौं । सरकारले मंगलबार धुमधामका साथ सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गरेको छ ।
सरकारले यो कार्यक्रमको उद्घाटन गरेसँगै नेपालका लाखौं मजदुरहरुको लागि यसले खुशीको बहार पनि ल्याएको छ ।
धेरैले यो विषयमा जानकारी नराखेको भएपनि कार्यान्वयन पक्ष पनि सफल भएको खण्डमा यसको व्यवस्थाले धेरैलाई लाभान्वित गराउने नै छ ।
झण्डै एक दशक पछिको प्रयास सफल भएको यो घडीमा गरिने खर्चमा व्यवसायीहरुसँग गुहार मागेको सरकारले क्रिश्चियन धर्मको प्रचारको लागि भने करोडौं रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको छ ।
मंगलबार विभिन्न पत्रपत्रिकामा सरकारले अग्र पृष्ठमा पूरा विज्ञापन गरेको गरेको थियो । श्रम तथा रोजगार मन्त्रालय स्रोतका अनुसार श्रम मन्त्री गोकर्ण विष्टले विभिन्न व्यवसायीहरुलाई सरकारको नाममा विज्ञापन दिन आग्रह गर्दै आफैंले टेलिफोन गरेका थिए । सो विज्ञापनबापत यति नै खर्च भयो भन्ने यकीन नभएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रीले नै आग्रह गरेपछि विभिन्न विज्ञापनदाताहरुले आ आफ्नो भागमा परेको सञ्चारमाध्यमहरुलाई विज्ञापन दिएका थिए । स्रोेतका अनुसार मन्त्रालयले नै सञ्चारमाध्यमहरुको नाम समेत दिएर विज्ञापनको लागि प्रस्ताव गरेको थियो । सुरुमा प्रस्ताव गरिएका विज्ञापनदाताहरुले आ आफूलाई मन परेको सञ्चारमाध्यमको नाम नै बताएका थिए ।
उता, युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने भनिएको कार्याक्रममा सरकार नै सहआयोजक बसेको छ । सरकारसँग सो कार्यक्रम आयोजकले ३१ करोड रुपैयाँ माग गरेको स्रोतले जनाएको छ । सो को लागि २ करोड रुपैयाँ त निकासा नै भईसकेको छ । यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको भन्दै तीब्र आलोचना समेत भईरहको छ । कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष एकनाथ ढकालले सो कार्यक्रमका लागि २० करोड खर्च हुने बताईरहँदा आयोजक संस्थाले भने सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको हो ।
गत शनिबार नेपाली काँग्रेसले पनि धर्म निरपेक्ष मुलुकमा सरकार एउटा आईएनजीओको मातहतमा रहेर अमूक धर्मको प्रचारमा लागेको भन्दै यसमा आपत्ति जनाएको थियो । काँग्रेसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय २५ दिनपुग्नै लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकार क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लगाएको हो । शनिबार राजधानीमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका थिए ।
एउटी छोरीको बलात्कार पछि हत्या भएको विषयमा न्याय माग्दा माग्दै मानसिक सन्तुलन गुमाएका कञ्चनपुरकी निर्मला पन्तका बुबालाई स्मरण गर्दै प्रवक्ता शर्माले जनताको न्याय मारेर कुनैपनि आईएनजीओको सहायक बनेर सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाएका हुन् । उनले नेपालको निशानी छाप र व्यवस्थापिका संसद्को लोगोको दुरुपयोग गरी सरकारले राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्याएको आरोप समेत लगाएका छन् । उनले कुनैपनि कार्यक्रममा सहआयोजक हुनुले नेपाल सरकार आयोजक आईएनजीओ भन्दा पनि तल्लो स्तरको भन्ने सन्देश गएको बताए ।
गृह मन्त्रालय स्रोतका अनुसार यो कार्यक्रममा सुरक्षा दिनको लागि भन्दै गृहले अर्थ मन्त्रालयसँग ११ करोड रुपैयाँ माग गरेको छ। ती सुरक्षाकर्मीका लागि दैनिक ७ सय ५० रुपैयाँ खाजा खर्च दिनुपर्ने भन्दै गृहले यो रकम अर्थसँग मागेको थियो। तर अर्थले खाजा खर्च अरु कर्मचारीलार्इ दिइदै आएको अढार्इ सय मात्रै दिन मिल्ने भन्दै दुर्इ करोड मात्रै निकासा गरिदिएको छ।
माधव नेपालको सक्रियता
फोडेरेसनको यो विवादित कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सक्रियता धेरै देखिएको छ । उनी प्रत्यक्ष रुपमा उनी आयोजकको रुपमा नरहेको भएपनि उनको यो सक्रियता कै कारण सरकार पनि यो विवादित संस्थाको सहआयोजक बस्न बाध्य भएको एमालेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर माधव नेपाल यस्तो विवादित कार्यक्रममा सक्रियताका साथ लाग्नुले उनी निकटका नेताहरु नै आश्चर्य चकित छन् । आइतबार नै सोही कार्यक्रमको बारेमा जानकारी दिन आयोजित एक कार्यक्रममा नेपालले सरकार सह आयोजक नभएर सहयोगी मात्रै रहेको भन्दै सरकारको बचाउ गरेका थिए । हाम्राकुरा
Related