सार्वजनिक खरिद तथा E-GP सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

0

भक्तपुर — बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँको आयोजनामा सञ्चालित सार्वजनिक खरिद तथा E-GP सम्बन्धी क्षमता विकास तालिम समापन भएको छ। पर्यटन विकास आयोजना इकाईमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम २०८२ साल पौष १० गतेदेखि पौष १२ गतेसम्म नगरकोटस्थित होटल हेभन हिलमा सञ्चालन गरिएको थियो।

समापन कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कर्मचारीहरूले जिम्मेवारीपूर्वक उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो। उहाँले अझ प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रेरित गर्दै कर्मचारीहरूको क्षमता विकास र हौसलामा प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले कुनै क्षेत्रबाट गुनासो नआउने गरी सेवाग्राहीमैत्री व्यवहार गर्न सुझाव दिँदै गुणस्तरीय सेवा प्रवाहले कार्यालयको प्रतिष्ठा थप उचो हुने बताउनुभयो।

कार्यक्रममा तालिममा सहभागी इन्जिनियर तथा कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहमा पर्यटन विकास आयोजना इकाईका कार्यालय प्रमुख उत्तम चापागाईँले कर्मचारीहरूको कार्यसम्पादनको उच्च मूल्यांकनका लागि मन्त्री श्रेष्ठप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै भोलिदेखि नै थप जिम्मेवारीका साथ काममा जुट्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिमले सार्वजनिक खरिद प्रक्रिया र E-GP प्रणालीसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गराउँदै कार्यालयको कार्यक्षमता र सेवा प्रवाह सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।