चाँगुनारायण । चाँगुनारायण नगरपालिका वडा नं। ८, सुडाल भक्तपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । रगतमा देखिएको कमीको अवस्थालाई मध्यनजर गरेर आयोजित रक्तदान कार्यक्रममा पाँच जना महिला र २५ पुरुष गरी ३० जनाले रक्तदान गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको आयोजना तथा भक्तपुर हेल्थ कन्सर्न प्रा।लि र विनायक फर्माको सहयोग एवं आरक्षण नेशनल एकेडेमी सुडालको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँच, हाडजोर्नी, स्त्री तथा बालरोग सम्बन्धी निःशुल्क स्वास्थ परिक्षण गरिएको सुडाल उपशाखाका सभापति विदुर नेपालले जानकारी दिनुभयो ।
शिविरमा आयोजित निःशुल्क सुगर परिक्षणमा ७४ जनाको परिक्षण गरिएकोमा २५ जनामा सुगरको समस्या देखिएको छ भने दुई सय ६३ जनाको स्वास्थ्य परिक्षणमा ३५ जनामा ब्लड प्रेसरको समस्या देखिएको डाक्टर सुनिल ढुङ्गेलले बताउनुभयो । समस्या देखिएकाहरुलाई अस्पतालमा सम्पर्क राख्नका लागि शिविरबाट रेफर गरिएको डाक्टर ढुङ्गेलले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको स्वर्ण महोत्सब वर्ष भित्रको अवधिभरमा भक्तपुर जिल्ला भरी अहिलेसम्म २३ वटा स्वास्थ्य शिविर सम्पन्न भएको जिल्ला शाखा भक्तपुर सभापति मनोज कुमार थापाले जानकारी दिनुभयो ।







































