भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाको सातौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन बुधबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशन रेनु त्वानाबासुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
त्वानाबासुको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम थापा, सह–सचिवमा राजन काकी, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा राजाराम नापित र सुनिल दुवाल रहनुभएको छ ।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले केन्द्रीय अधिवेशन फागुन २४ गते नवलपुरमा हुने जानकारी गराउनुभयो । संघ स्थापना दिवसको अवसर पारेर फागुन २४ गते नवलपरासी जिल्लाको नवलपुरमा अधिवेशन आयोजना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवागले पार्टी पत्रकारिताबीच पनि स्वतन्त्र पत्रकार संघले कठोरतापूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आएको जानकारी गराउनुभयो । भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजु, संघ पोखराका पूर्व अध्यक्ष कृष्ण रणाभाट तथा भक्तपुरका सल्लाहकार कृष्ण किसीलगायतले पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हुनु पत्रकारको मूल धर्म हो भन्ने मूल नारालाई सार्थक बनाउँदै अघि बढ्न शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
अधिवेशनले सात जना पार्षद पनि निर्वाचित गरेको छ ।







































