
काठमाडौ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणको लागि इटालिएन कम्पनी सिएमसी र चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको छ।
आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले कुलेखानीपछि निर्माण हुन लागेको नेपालकै ठूलो जलाशययुक्त आयोजना निर्माणकोलागि सिएमसी र सिनो हाइड्रोसँग सोमबार ठेक्का सम्झौता गरेको छ।
आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ। तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
आयोजनाले सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा ठेक्का सम्झौता गरेको हो।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका कामको लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ। 
तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरेका छन्। कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र तीन अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मा ठेक्का सम्झौता भएको हो।
दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ।
प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे। उनले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थापनबीच दशैं अगावै छलफल गर्न लागिएकोले सोही अनुसार तयारी गर्न समेत आग्रह गरे। निर्माण कम्पनीहरुले पनि आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
तनहुँ हाइड्रोपावर लिमिटेडले गत साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो। पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ।
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ। तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ। जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा पनि वितरण भइसकेको छ। बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५ मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ। यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकी डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकी डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन्।
१४० मेगावाटको तनहुँ जलाशययुक्त आयोजना निर्माणकोलागि ठेक्का सम्झौता, ५ वर्षभित्र निर्माण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।













































