काठमाडौं । कोटेश्वर सेतीओपीमार्गमा रहेको २५ वर्ष पुरानो ग्रामर पब्लिक स्कुलको ११ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जलस्रोत, उर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा बुधबार भएको कार्यक्रममा मन्त्री पुनले ग्रामर पब्लिक स्कुलले नेपालको शिक्षा विकास र योग्य नागरिक उत्पादन गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
मन्त्री पुनलाई ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राई तथा ग्रामर स्कुल ÷कलेज सञ्चालक समितिका अध्यक्ष जयकुमार राईले विद्यालयको तर्फबाट उपहार प्रदान गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले २०५० सालमा ३२ जना विदार्थी लिएर स्थापना गरिएको विद्यालयमा अहिले मन्टेश्वरी कक्षादेखि स्नातक तहसम्म १ हजार १०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । गत चैतको पहिलो हप्ता सम्पन्न माद्यमिक शिक्षा परीक्षा एसईई सहित विद्यालयको तर्फबाट १८ औं ब्याचका विद्यार्थीले एसएलसी परिक्षा दिइसकेकोे र हालसम्मको नतिजा शतप्रतिशत र उत्कृष्ट रहेको बताउनुभयो ।
उहाँले मुलुकभरी रहेका ३५ हजार २२२ विद्यालयमध्ये २९ हजार २०७ सामुदायीक र ६ हजार १५ संस्थागत विद्यालय रहेको बताउँदै संस्थागत विद्यालयमा २० लाख विद्यार्थी अध्ययनरत र २ लाख शिक्षकहरुले रोजगारी पाइरहेकोले सरकारले यसको मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले साकेला सिलीदेखि विभिन्न परम्परागत नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार प्रा.कयोदवी यमी, ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राई, अभिभावक अधिवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका वक्ताले बोल्दै विद्यालयको प्रगतीको कामना गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिनुको साथै उत्कृष्ट शिक्षक र अभिभावकलाई सम्मान गरिएको थियो ।







































