३५३५ प्रहरी परिचालन, नाकामा कुकुर गस्ती

377

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न सुरक्षा योजना सार्वजनिक गरेको छ। परिसर कार्यालयमा पत्रकार सम्मलेनका आयोजना गर्दै परिसर प्रमुख एसएसपी वसन्त लामाले सुरक्षा योजना सार्वजनिक गरेका हुन्। 

प्रहरीले अब दुई वटा सुरक्षा चुनौती रहेको र त्यसैअनुसार सुरक्षा योजना बनाइएको बताएको छ।एउटा नियमित सुरक्षा चुनौती छ भने अर्कोतर्फ चाडपर्वमा हुने सुरक्षा चुनौती थपिएको छ। चाडपर्वमा हुने सुरक्षा चुनौती न्यूनीकरण गर्न परिसरले ३ हजार ३ सय ३५ जना प्रहरी परिचालन गर्ने बताएको हाे।

यस्तो छ गस्तीको तयारी

विगतमा हुने गरेको अपराध र अहिलेको अवस्थालाई विश्लेषण गरी प्रहरीले गस्तीको तयारी गरेको छ। सुरक्षाको दुष्टिकोणलाई मध्यनजर गर्दै प्रहरीले ड्युटीका प्रकार विभाजन गरेर जनशक्तिको बाँडफाँट गरेको छ। 

काठमाडौंलाई विभिन्न १४ क्षेत्रमा बाँडेर सुरक्षा योजना बनाइएको एसएसपी लामाले बताए। ६० ठाउँमा पैदल गस्ती गरिने छ भने काठमाडौंका ६१ स्थानमा ‘पिकेटिङ’को व्यवस्था मिलाइएको छ। ‘काठमाडौंका गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’ एसएसपी लामाले भने। 

त्यस्तै सवारी गस्तीतर्फ ३६ वटा साइकल गस्ती टोली हुने बताइएको छ। मोटरसाइकल गस्ती टोली ३०, मोटर गस्ती टोली २४ वटा हुनेछन् । उनीहरुले २४ घन्टा गस्ती एसएसपी लामाले बताए।

बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले ठूलो मात्रामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ। 

विभिन्न आपराधिक संलग्न भएका व्यक्तिको निगरानी गर्न र सूचना संकलन गर्न मात्रै ७० जना प्रहरीलाई सादा पोशाकमा परिचालन गरिएको एसएसपी लामाले बताए। सिल एन्ड सर्चका लागि ३० वटा टोली गठन गरिएको छ। शंकास्पद व्यक्तिमाथि जुनसुकै बेला सर्च गर्न सक्ने अधिकार उक्त टाेलीले पाएको छ। 

अपराध भइहाले पनि अपराधी उम्कन नदिन ३० ठाउँ एम्बुसिङ र निगरानी गरी ३० ठाउँ नै विशेष सर्चको व्यस्था गरिएको छ। ३ वटा स्ट्राइकिङ टोली गठन गरिएको छ। जसले चोरी, डकैती र कुनै पनि अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्नेछ। 

हतियारसहितका ५३ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी) बनाइएको छ। झैझगडा, लुटपाट जस्ता अपारध भएको खबर पाउनासाथ हतियारसहितको क्युआरटी टिम घटनास्थल पुग्ने व्यवस्था मिलाइएको परिसरले जनाएको छ। 

त्यस्तै सिनियर अधिकृतको कमान्डमा २५ वटा छुट्टै टोली बनाइएको छ। अपराध भएको जानकारी पाउनासाथ यो प्रहरी टोलीले चारैतिरको नाकालाई घेरेर अपराधी पक्राउ गर्ने बताइएको छ। कंलकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोगंबु, गौशाला,  चाबहिल, कोटेश्वर, हलचोकका १० ठाउँ बर्दीका र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। टोलीले टिकटमा हुने कालोबजारी, ठगी नियन्त्रण गर्नुका साथै त्यस क्षेत्रमा हुने अन्य आपराधिक घटनाको निगरानी गर्नेछ। 

नाकामा कुकुर गस्ती
राजधानी भित्रिने नागढुंगा, दक्षिणकाली, टोखा, साँगा, साँखुलगायतका नाकामा कुकुर गस्ती गरिनेछ। नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने एसएसपी लामाले बताए।

तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाई आवश्यक परेको प्रहरीले जनाएको छ। यसबाहेक राजधानीका अन्य ठाउँमा पनि आवश्यकता अनुसार कुकर परिचालन गरिनेछ। कुकुर परिचालनका लागि ७ टोली बनाइएको छ। 

सरकारी कार्यालयमा बस्ने पाले र कार्यालय सहयोगीको पनि निगरानीमा

चाडपर्वको बेला सरकारी कार्यालय बन्द हुने भएपनि अपराध गर्ने सरकारी कार्यालय निसाना बनाउन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी सचेत छ। 

महत्वपूर्ण सरकारी कागजात, सरकारी सम्पत्ति लगायतको सुरक्षामा पनि प्रहरी टोली परिचालन गरिने भएको छ। 

कार्यालय बन्द भएका बेला सुरक्षा दिन बसेका कार्यालय सहयोगी, सेक्युरेटी गार्डसमेत अपराधमा संलग्न हुन सक्ने आँकलन गर्दै प्रहरीले काठमाडौंका सबै सरकारी कार्यालयका सेक्युरेटी गार्ड र कार्यालय सहयोगीको समेत विवरण माग गरेको छ। 

‘अपराध जो कोहीबाट पनि हुनसक्छ। बिदाका बेला कार्यालयको सुरक्षाका लागि बसेका गार्डको विवरण पनि हामीले माग गरेका छौं। तिनीहरुमाथि निगरानी हुनुका साथै कसरी सुरक्षा दिने र अपराध भइहालेमा के गर्ने भन्ने प्रशिक्षण समेत दिने तयारीमा हामी छौं’ एसएसपी लामाले भने। 

यस्ता छन् प्रहरी ड्युटीका क्षेत्र
विशेषगरी कुटपीट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्रि वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियमको उल्लंघनका घटना हुनसक्ने आँकलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेको हो। 

अपराध हुनसक्ने ठाउँलाई मध्यनजर गर्दै ड्युटीका क्षेत्र छुट्याइएको हो। सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था, आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार (किनबेच) हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थान, नाका, होटेल, गेस्ट हाउस तथा रेस्टुरेन्ट, नियमित अपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती र भिआइपीको मुभमेन्ट हुने स्थानमा बढी अपराध हुन सक्ने भन्दै प्रहरीले ठूलो मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ। 

Source link