५५ हाते लिंगोमा १० हात गायब, स्थानीय भन्छन् संस्कृति माथी नै हमला भयो

1923

भक्तपुर :- भक्तपुरको चर्चित पर्व बिस्का जात्रामा ठड्याइएको लिंगो १० हात कम भएको पाइएको छ । यस वर्षका लागि तयार पारिएको ५५ हात लामो लिंगो ठड्याइसकेपछि नाप्दा १० हात गायब भएको पाइएको हो ।

सूर्यविनायक नगरपालिका–१० को जंगलबाट उक्त लिंगो भक्तपुरको लेसिङखेलमा गुठी संस्थानले विभिन्न प्रक्रिया पुर्याएर ल्याउने गर्छ । तर, यो वर्ष भने गुठीको लापरबाहीले लिंगो १० हात कम अर्थात् ४५ हात मात्र उठेको छ ।

बिस्का जात्राको प्रचलनअनुसार लिंगो ५५ हात लामो हुनुपर्छ । तर, लिंगोका लागि रूख काटेर ल्याउने बेलामा टुप्पो चर्केर छोट्याउनुपरेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

जात्राका लागि दुईवटा लिंगो ल्याइएका थिए । अर्को बांगो भएकाले छोटो भए पनि सीधा रूख लिंगोका रूपमा उठाइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

लिंगो काट्न र ठड्याउने स्थानसम्म ल्याउन गुठी संस्थानले इन्दिरा प्रजापतिलाई ३ लाख २४ हजार ५ सय ९९ मा ठेक्का दिएको थियो । लिंगो जहिले पनि सीधा रूखको मात्र बनाइने भए पनि गुठीले अनुगमन नगर्दा ठेक्का पाउनेले बांगो रूख नै काटेर ल्याएका थिए ।

लिंगो ल्याउने क्रममा विभिन्न विधि गर्दै ल्याउने प्रचलन रहेको छ । तर, गुठी संस्थान र लिंगो ल्याउन ठेक्का लिनको मिलेमतोमा रातारात नै लिंगो काटेर ल्याइएको थियो ।

डोजरमार्फत तान्दै ल्याइएको लिंगो जथाभावी तान्दा १० हात टुक्राउनुपर्ने गरी नै बिग्रेको थियो । तर, ढाकछोप गर्दै गुठीले भने १० हात छोटो नै लिंगो ठड्याउन प्रक्रिया गरेको थियो ।

लिंगो छनोटको प्रक्रिया समाप्त भएपछि रूखलाई काटेर मानिसले तान्दै विभिन्न स्थानमा भोज खाँदै र हर्षोल्लाससाथ भक्तपुरको लेसिङखेलमा ल्याउने परम्परा रहेको छ ।

नयाँ वर्षको आगमन र पुरानो वर्षको सुरुका दिनमा मनाइने लिंगो जात्राका लागि ल्याइने उक्त लिंगोलाई नेवारी समुदायले ठूलो आस्थाका साथ पूजाआजासहित भगवानका रूपमा मान्ने गर्छन् ।

गुठीका केही सदस्य र ठेकेदारहरू मिलेर डोजर प्रयोग गर्दै लिंगो भित्र्याएजस्तै भोलिका दिनमा उक्त लिंगोे उठान पनि डोजर नै लगाएर हुने भन्दै सामाजिक सञ्जालमा यो विषयको खण्डनसमेत भएको थियो ।

‘हाम्रो रीतिथिति र परम्परा अब मेसिनको सहायतामै मनाउने हो भने भोलिका दिनमा बिस्केट जात्राको रथ पनि रिमोट बाला नानीहरूले खेल्ने खेलौना जस्तै गरी निर्माण गरेर यताउता गराई मनाए हुने देखिन्छ,’ स्थानीयले भने ।

गुठी संस्थान र ठेकेदारको मिलेमतोमा थोरै पैसामा लिंगोे ल्याउने र नाफा गर्ने उद्धेश्यले रातारात नै लिंगो झिकाइएको विगतका दिनमा लिंगो ल्याउनेहरू बताउँछन् । त्यसैले विभिन्न स्थानमा ठोकिँदा लिंगो काट्नुपर्ने भएको समेत उनीहरू आरोप लगाउँछन् ।

नाफाका नाममा संस्कृतिमाथि नै हमला हुँदा पनि कोही केही नबोल्नु लाजमर्दो भएको स्थानीयबासी बताउँछन् । उता, गुठी संस्थानसँग यो विषयमा कुरा गर्दा लिंगो तान्ने मानिसको अभावका कारण डोजरले तानेर ल्याउन बाध्य भएको बताइन्छ ।

सिधा रूखलाई नै लिंगोका रूपमा ल्याउनुपर्नेमा यस वर्ष ल्याइएको लिंगो समेत अष्टवक्र भएकाले सिधा तर छोटो लिंगो उठाउन बाध्य भएको स्थानीय बताउँछन् ।

लिंगो ल्याउँदा कहिलेकाहीँ बिजोर ल्याउन नहुने भएकाले जोर ल्याउने प्रचलन छ । यो वर्ष छोटो लिंगो उठाएसँगै अगामी दिनमा पनि छोटो नै ल्याउने हुन् कि संस्कृति माथी नै हमला हुने हो की भन्ने चिन्ता बढेको जात्रालु बताउँछन् ।