बलराम प्यासी
काठमाडौं ।
पेटको क्यान्सर फैलिएर कलेजोसम्म पुगी उपचार गराईराखेका सातपटक सगरमाथा जितेका सफल आरोही दावाछिरी शेर्पा अन्ततः क्यान्सरसंग हार्दै सोमबार संसारबाट विदा भए ।
सोमबार विहान ३ बजे सेचेन क्लिनिक बौद्धमा उनको निधन भएको उनका कान्छा छोरा तेन्जीले बताए । छोरा तेन्जीका अनुसार शेर्पा परम्परा अनुसार मंगलबार विहान ११ बजे जोरपाटीस्थित जाम्बोडाँडामा उनको अन्तिम संस्कार गरिनेछ ।
गत हप्ताको सोमबार क्यान्सर भएको पत्ता लागेपछि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलमा भर्ना गरि उनको उपचार गरिएको थियो । वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले उनको उपचार गरेका थिए ।
शेर्पाले ७ पटक सगरमाथा, ६ पटक चोयु, ५ पटक मनास्लु, ४ पटक मकालु, ४ पटक धवलागिरी र २ पटक पाकिस्तानको केटु हिमालको सफल आरोहण गरेका थिए ।
लोखिम ९ कुरिमागाउँ सोलुखुम्बुका दावाछिरी सन् १९९५ देखि ट्रेकिंग गाइडको रुपमा हिमाल आरोहण गर्न थालेका थिए । मकालु हिमाल ४ चोटी सफल आरोहण गरिसकेका दावाछिरी पाँचौपटकको आरोहणको लागि स्विडेनका एकजना आरोही लिएर गत २ मार्चमा मकालु पुगेका थिए ।
मकालु हिमालको आधार सिविर ‘मनास्लु एबिसि’ मा पुग्दा अकस्मात पेट दुखेकोले उनलाई आकस्मिक उद्धार गरि हेलिकोप्टरबाट काठमाडौंमा ल्याइ उपचारको लागि विभिन्न अस्पताल पुर्याइएको थियो ।
पटकपटक हिमाल आरोहणका क्रममा समयमा खाना नखाँदा पेटमा ग्यास्ट्रिक भएर अल्सर भएको र त्यसपछि क्यान्सर भएको बताउदै सगरमाथा आरोही दावाछिरीले अस्पतालको शै्ययाबाटै ट्रेकि¨ गाइडहरुलाई सुझाव दिएका थिए—‘मलाई त क्यान्सर भयो, साथीहरु भोकभोकै बसेर हिमाल आरोहण नगर्नु र क्यान्सरबाट जोगिनु ।’
स्वर्गीय शेर्पाका पत्नि पेमा दिकी शेर्पा, छोराहरु नवांग जांगबु, तेन्जी र सोना गुरेमन र छोरी दायांगजी शेर्पा छन ।







































