काठमाडौँ — कांग्रेसको समानुपातिक सूचीमा सुरुवातमा निकै पछाडि थिए, भक्तपुरका मदनकृष्ण श्रेष्ठ । उनी अहिले सांसद बनेका छन् । पार्टीले उनलाई आदिवासी जनजाति समूहअन्तर्गत अपांगता कोटाबाट संसद्मा पठाएको हो ।
समानुपातिक सूची तयार हुँदा श्रेष्ठ सांसद बन्ने सम्भावना अत्यन्त कमजोर देखिएको थियो। आदिवासी जनजाति पुरुषतर्फ कांग्रेसको बन्दसूचीमा उनको नाम १६औँ नम्बरमा थियो। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पुस १३ र १४ गते सूची बुझाउन समय दिएको थियो। कांग्रेसले पुस १४ गते बुझाएको सूचीमा उनको नाम अन्तिमतिर राखिएको थियो। पछि मुस्ताङका रोमी गौचन थकालीले आफ्नो नाम फिर्ता लिएपछि श्रेष्ठ एक स्थान माथि उक्लिएर १५औँ नम्बरमा पुगे। तर त्यसले पनि उनको सांसद बन्ने सम्भावनामा खासै परिवर्तन ल्याएको थिएन। समानुपातिक प्रणालीको गणितअनुसार उनको नाम चयन हुने सूचीभन्दा निकै तल थियो।
राजनीतिक परिस्थिति बदल्ने मोड भने पुस १८ गते आयो। सर्वोच्च अदालतले राजनीतिक दलहरूको समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भन्दै निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश जारी गर्यो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार बन्दसूची पुनरावलोकन गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न अदालतले स्पष्ट निर्देशन दिएको थियो।
यही आदेशले श्रेष्ठका लागि संसद्मा पुग्ने सम्भावनालाई वास्तविकतामा बदलिदियो। ‘सर्वोच्च अदालतले आदेश दिएपछि अपाङ्गता समूहबाट प्रतिनिधित्व गराउन पार्टी बाध्य भयो, त्यसैले म सांसद बन्ने अवसरमा परेँ,’ श्रेष्ठले भने ।
श्रेष्ठको जीवनयात्रा सुरुदेखि नै संघर्षपूर्ण रह्यो। उनी ६ महिनाका हुँदा बाबुको निधन भयो। ७ महिनाको उमेरमा टाइफाइड संक्रमण भएपछि स्वास्थ्य अवस्था जटिल बन्यो र त्यसको असरपछि पोलियो देखियो। बाल्यकालदेखि नै खुट्टा कमजोर भएपछि उनले शारीरिक अपाङ्गताको चुनौतीसँगै जीवन अघि बढाउनुपर्यो। तर यही परिस्थितिले उनलाई निराश बनाउनुको सट्टा जीवनप्रति दृढ बनायो। उनी आफूलाई सीमाभित्र बन्द गर्नेभन्दा समाज र राजनीतिमा सक्रिय हुने बाटो रोजे।
भक्तपुरको ठिमीस्थित आदर्श विद्यालयमा अध्ययन गर्दादेखि नै उनको राजनीतिक यात्रा सुरु भएको हो। परिवारकै वातावरणले उनलाई राजनीतितर्फ आकर्षित गर्यो। उनका दाजु प्रेमकृष्ण श्रेष्ठ पञ्चायतकालमै भक्तपुरका परिचित राजनीतिज्ञ थिए र दुई कार्यकाल प्रधानपञ्च बनेका थिए। घरमा हुने राजनीतिक छलफल र नेताहरूको आवतजावतले उनलाई सानैदेखि प्रभावित बनायो।
‘घरमै राजनीतिक वातावरण थियो, त्यसैले सानैदेखि चासो बढ्यो र १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुन थालेँ,’ उनी सम्झन्छन्। त्यतिबेला नेताहरूका भाषण सुन्न जाने उनको बानी थियो। बागबजारमा सुनेको एउटा भाषणले उनलाई गहिरो प्रभाव पारेको उनी अझै सम्झन्छन् । सुनको पिँजडामा राखे पनि सुगा स्वतन्त्र आकाश चाहन्छ भन्ने विचारले स्वतन्त्रता र लोकतन्त्रको मूल्य बुझाएको उनको अनुभव छ।








































