दक्षिण अफ्रिका — अफ्रिकी भूमिमा पहिलोपटक आयोजित समूह–२० (जी–२०) शिखर सम्मेलन शनिबार दक्षिण अफ्रिकाको सेवेटो नजिक सुरु भएको छ। गरिब तथा संवेदनशील राष्ट्रहरूलाई दीर्घकालीन रूपमा पिरोलिरहेको आर्थिक, जलवायु र विकाससम्बन्धी समस्यामा ठोस प्रगति गर्ने उद्देश्यसहित विश्वका धनी र उदीयमान अर्थतन्त्रका शीर्ष नेता एकै ठाउँमा भेला भएका छन्।
तर शिखर सम्मेलन अमेरिकाको अनुपस्थितिमा प्रारम्भ भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकाले ‘श्वेत–विरोधी नस्लवादी नीति’ अवलम्बन गरिरहेको दाबी गर्दै कार्यक्रम बहिष्कार गर्न आदेश दिएपछि अमेरिकी सहभागिता औपचारिक रूपमा खारेज भएको हो।
दक्षिण अफ्रिकाको प्राथमिकता : जलवायु, ऋण र हरित ऊर्जातर्फ सहयोग
यो वर्ष जी–२० को घुम्ती अध्यक्ष राष्ट्रका रूपमा दक्षिण अफ्रिकाले शिखर सम्मेलनको एजेन्डा विकासशील मुलुकमाथि जलवायु प्रकोपको असर घटाउने, विदेशी ऋण राहत, हरित ऊर्जा संक्रमण सहज बनाउने र अफ्रिकाका महत्वपूर्ण खनिजभण्डारको प्रभावकारी उपयोगमा सहयोग प्रवाह गर्ने विषयमा केन्द्रित गरेको छ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले यी एजेन्डालाई “विकासशील विश्वका प्राथमिक आवश्यकताहरू स्पष्ट रूपमा टेबलमा राख्ने दक्षिण अफ्रिकाको महत्वपूर्ण पहल” भनेका छन्।
तर अमेरिकाको बहिष्कारले कूटनीतिक वातावरण थप जटिल बनेको छ। ट्रम्प प्रशासनले वर्षैभरि दक्षिण अफ्रिकाद्वारा अघि सारिएका विविधता, समावेशीकरण र जलवायु–केन्द्रित नीतिप्रति असन्तुष्टि सार्वजनिक गर्दै आएको थियो। यसअघि फेब्रुअरीमा विदेश मन्त्रीस्तरीय बैठकसमेत अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहिष्कार गरेका थिए।
विश्व नेताहरूको प्रतिक्रिया : ‘अमेरिकी अनुपस्थितिले शिखर सम्मेलन रोकिँदैन’
अमेरिका अनुपस्थित भए पनि अन्य प्रमुख सदस्य राष्ट्रहरूले शिखर सम्मेलनका लक्ष्यहरूबाट पछि नहट्ने संकेत दिएका छन्। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले अमेरिकी बहिष्कारप्रति ‘दुःख’ प्रकट गर्दै भने,
“हामीलाई धेरै साझा चुनौती हल गर्न छ, एक देशको अनुपस्थितिले हाम्रो प्रयास रोकिँदैन।”
जी–२० ले विश्व अर्थतन्त्रको ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत र विश्व जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा प्रतिनिधित्व गर्दछ। यद्यपि यसका निर्णय बाध्यकारी नभएकाले अमेरिका, चीन, भारत, युरोपेली संघ र अन्य प्रमुख सदस्यका फरक चासोलाई एउटै निष्कर्षमा लैजान सदैव चुनौतीपूर्ण रहँदै आएको छ।
घोषणापत्रबारे अनिश्चितता
यो शिखर सम्मेलन परम्परागतरूपमा एक संयुक्त घोषणासँग समाप्त हुन्छ। तर यसपटक अमेरिकी दबाबका कारण अन्तिम कागजात संयुक्त बयान नबनाइ दक्षिण अफ्रिकाद्वारा प्रस्तुत ‘एकपक्षीय वक्तव्य’मा सीमित गर्न खोजिएको दक्षिण अफ्रिका सरकारले जनाएको छ।
राष्ट्रपति सिरिल रामाफोसाले भने स्पष्ट प्रतिक्रिया दिँदै भने,
“हामी धम्कीले रोकिन्न; सबै सदस्य उपस्थित भए पनि नभए पनि घोषणा जारी गर्छौँ।”
आगामी अध्यक्षता अमेरिकामा, तर सहभागिता न्यून
शिखर सम्मेलनपछि जी–२० को घुम्ती अध्यक्षता दक्षिण अफ्रिकाबाट अमेरिकामा हस्तान्तरण हुनेछ। राष्ट्रपति ट्रम्पले आगामी शिखर सम्मेलन आफ्नो फ्लोरिडास्थित डोरल गोल्फ क्लबमा आयोजना गर्ने घोषणा गरिसकिएका छन्।
तर अमेरिकी सहभागिता यसपटक न्यून रहनेछ—हस्तान्तरण समारोहमा दक्षिण अफ्रिकास्थित अमेरिकी दूतावासका प्रतिनिधि मात्र उपस्थित हुनेछन्। दक्षिण अफ्रिकाले यस्तो ‘कनिष्ठ तहको टोली’ पठाउनुलाई आफ्नो नेतृत्वप्रति गरिएको अपमानका रूपमा लिएको छ।











































