अब कोटेश्वर एरियामा जाम कम हुने, काेटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’

707

काठमाण्डौँ। बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौं महानगरपालिकाले आइतबार (बैशाख १५)  गते देखि कोटेश्वर एरियामा पनि सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने ‘पिक एण्ड ड्रप’ अभियान सुरु गर्ने भएको छ ।

मंगलबार ट्राफीक महाशाखाले कोटेश्वर एरियामा अनिवार्य रुपमा तोकिएको स्थानमा मात्र यात्रुहरुलाई ‘पिक एण्ड ड्रप’ गर्न गराउन संपूर्ण सार्वजनिक सवारी चालक, सवारी प्रयोगकर्ता तथा पैदल यात्रु हरुलाई अनुरोध गरेको छ ।

एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान सुरु गरेको हो ।

यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारबाही हुनेछ ।

लामो दुरीको पुर्ववाट आउने गाडीहरु मुनिभैरव चोकबाट गौशाला जाने बाटो दायाँ पटि यात्रुहरु ओराल्न र उकाल्न पाउनेछन् । बनेपा, धुलिखेल, पनौती तर्फ जाने भक्तपुर बसपार्क/बालकोट जाने, ठिमि पुरानो बाटो हुदै भक्तपुर जाने, जडिबुटि हुदै काँडाघारी जाने बसहरुले दायाँ बायाँ रहेको कोटेश्वरको बसपार्कमा मात्र यात्रु ओराल्न र उकाल्न पाउनेछन् ।

बसपार्कबाट छुट्ने लामो दुरीका बसहरुले जडिबुटिमा रहेको बसपार्कमा मात्र यात्रु ओराल्न र उकाल्न पाउनेछन् । चक्रपथ परिक्रमामा सातदोबाटो तिर जाने बसले कोटेश्वर भाटभटेनी नजिकको बस स्टपमा मात्र यात्रु ओराल्न र उकाल्न पाउनेछन् । सातदोबाटोबाट गौशाला तर्फ जाने तथा सातदोबाटोबाट भक्तपुर तिर जाने बसले कोटेश्वर भाटभटेनीको अपोजिट साइटमा मात्र यात्रु ओराल्न र उकाल्न पाउनेछन् ।

यसअघि कामपाले टुँडिखेल आसपास क्षेत्रमा पनि ‘पिक एण्ड ड्रप’ नियम लागु गरेको थियो । अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ ।