शिक्षण पेसामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेसामा प्रवेश गर्न चाहने र पेसामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ। त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौदा पारित भएपछि अधिकार सम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। विद्यालय शिक्षामा अध्यापन कार्यका लागि योग्य विद्यार्थीको निर्धारणका लागि काउन्सिलको स्थापना हुने भएको हो।
काउन्सिलले शिक्षकहरूको पेसागत गुणस्तर सुधार गर्न भूमिका खेल्नुपर्ने सरोकारवाला बताउँछन् । संघीय शिक्षा ऐन, २०७५ को मस्यौदामा काउन्सिल स्थापना हुने प्रस्ताव गरिएको छ। प्रस्तावमा विद्यालय सेवामा अध्यापकका रूपमा प्रवेश गर्न चाहनेका लागि पूर्वयोग्यता परीक्षण गरी अध्यापन अनुमतिपत्र दिने अधिकार काउन्सिललाई दिइएको छ । यस्तै, शिक्षण पेसालाई मर्यादित र व्यवस्थित गराउन सरकारलाई सुझाव दिने, शिक्षक उत्पादनका लागि पेसागत कोर्स सञ्चालन गर्ने अधिकार पनि काउन्सिललाई दिइएको छ।
प्रस्तावमा शिक्षकको अध्यापन अनुमतिपत्र तोकिएबमोजिम नवीकरण गर्ने, शिक्षण तथा प्राध्यापन पेसामा संलग्नको आचारसंहिता बनाई लागू गर्ने भनिएको छ। अबदेखि शिक्षक तालिम र पेसागत विकाससम्बन्धी नीति, मापदण्ड र तालिम पाठ्यक्रम तर्जुमा सम्बन्धमा मन्त्रालयलाई सिफारिस गरिने भएको छ। आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।
Purbeli TV












































