अमेरिकाद्वारा क्यानाडाली वस्तुमा ३५ प्रतिशत भन्सार: ट्रम्पको धम्कीपूर्ण पत्र सार्वजनिक

युएसएमसिए सम्झौतामा असन्तुष्टि, अगस्ट १ देखि नयाँ शुल्क लागू गर्ने तयारी

13

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र पठाउँदै आगामी अगस्ट १ देखि क्यानाडाबाट आयात हुने वस्तुमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने चेतावनी दिनुभएको छ।

ट्रम्पको यो निर्णय हालैका हप्तामा विभिन्न मुलुकलाई पठाइएको २० भन्दा बढी चेतावनीपूर्ण पत्रहरूमध्ये पछिल्लो हो, जसमा उहाँले दर्जनौँ देशसँग व्यापारिक युद्धको सम्भावना बढाउँदै आउनुभएको छ।

वार्ता जारी, तर समयसीमा अनिश्चित

क्यानाडा र अमेरिका हाल युएसएमसिए (USMCA) भनिने उत्तर अमेरिकी मुक्त व्यापार सम्झौतालाई प्रभावकारी बनाउने प्रयासमा वार्तामा संलग्न छन्। दुवै पक्ष जुलाई २१ भित्र सहमति गर्ने लक्ष्यमा थिए, तर ट्रम्पको पछिल्लो पत्रले यो समयसीमामा अन्योलता ल्याएको देखिन्छ।

क्यानाडाली प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेख्दै भन्नुभयो, “संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्तामा क्यानाडाले सधैं आफ्ना कामदार र व्यवसायको पक्षमा दृढता देखाउँदै आएको छ। हामी अगस्ट १ को नयाँ समयसीमासम्म त्यसैअनुसार काम गर्नेछौं।”

अघिल्लो सम्झौता प्रतिस्थापन भए पनि असन्तुष्टि कायमै

ट्रम्पको पहिलो कार्यकालमा नाफ्टा (NAFTA) सम्झौतालाई पुनः वार्ता गराएर २०२० मा युएसएमसिएमार्फत प्रतिस्थापन गरिएको थियो। तर, उहाँले २०२५ को सुरुआतदेखि नै व्यापारसम्बन्धी सर्तहरू पुनः समीक्षा गर्ने नाममा नयाँ दबाब दिन थालेका छन्।

क्यानाडा र मेक्सिको दुवै ट्रम्पलाई सन्तुष्ट पार्न विभिन्न उपाय खोजिरहेका छन्। यद्यपि, अमेरिकी प्रशासनको पछिल्लो भन्सार नीति क्यानाडाली ऊर्जा र उत्पादनहरूमा २५ प्रतिशतसम्मको असर पुर्‍याउने देखिएको छ।

भन्सार मात्र होइन, कूटनीतिक दबाब पनि

ट्रम्पले अवैध आप्रवासन र सीमापार लागुऔषध प्रवाह नियन्त्रणमा असफल रहेको भन्दै छिमेकी देशहरूलाई खुलेर आलोचना गर्दै आउनुभएको छ। यसैबीच, ब्राजिल र युरोपेली सङ्घ (EU) पनि अमेरिकी भन्सार नीतिको चपेटामा छन्।

ट्रम्पले एनबिसीसँगको अन्तर्वार्तामा “जसले पत्र पाएनन्, तिनीहरूलाई पनि अगस्ट १ देखि १५–२० प्रतिशतसम्म भन्सार शुल्क लगाउने विचारमा छु,” भनेर चेतावनी दिनुभएको छ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले ट्रम्पको कडा नीतिपछि वार्ताको इच्छा व्यक्त गरे पनि पारस्परिक उपायहरूको मूल्याङ्कन भइरहेकाे जानकारी दिनुभएको छ।

ट्रम्प–कार्नी सम्बन्ध र क्यानाडाको चिन्ता

ट्रम्प र कार्नीबीच व्यक्तिगत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहेको भनिए पनि क्यानाडा–अमेरिका व्यापारमा बढ्दो तनावले त्यसमा असर गरेको देखिन्छ। कार्नीले विगतमा ट्रम्पको ‘क्यानाडा अमेरिकाको ५१औं राज्य बन्नुपर्छ’ भन्ने भनाइको सामना गर्नु परेको थियो।

गत मे ६ मा ओभल अफिसमा भेटवार्ता गरेका यी दुई नेताबीच जी–७ शिखर सम्मेलनका क्रममा पनि भेटघाट भएको थियो, जहाँ अन्य राष्ट्राध्यक्षहरूले ट्रम्पलाई भन्सार नीतिबाट पछि हट्न आग्रह गरेका थिए।

यसबिच, क्यानाडाले अमेरिकी प्रविधि कम्पनीहरूमा लागेका करहरू हटाउन सहमति जनाएको थियो, जसपछि ट्रम्पले बदला स्वरूप वार्ता स्थगन र भन्सार वृद्धिको संकेत दिनुभएको हो।