काठमाडौं । २००७ सालमा तत्कालिन जहाँनिया राणा शासनको विरुद्ध आवाज उठाएका कारण राणा सरकारबाट हत्या गरिएका शहीद धर्मभक्त माथेमाको नाउँमा सरकारले पहिलोपल्ट सबैले सम्झिने गरि नाम राखेको छ ।
भक्तपुर अस्पताल परिसरमा स्थापित मानवअंग प्रत्यारोपण केन्द्रलाई बिहीबारदेखि लागु हुनेगरि सरकारले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र नामाकरण गरेको हो । सो केन्द्र मिर्गाैलालगायत शरीरका अन्य अंग प्रत्यारोपणका लागि स्थापना गरिएको हो ।
रक्षामन्त्री भिमसेनदास प्रधानको पहल तथा स्वास्थयमन्त्री दिपक वोहोराको प्रस्ताव अनुसार सो अस्पतालको नँया नामाकरण गरि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र जुराइएको हो ।
यसअघि २००७ सालका ४ शहीदमध्ये गंगालालको नाउँबाट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (मुटुरोग अस्पताल), शहीद शुक्रराज शास्त्री को नाउँबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल दशरथ चन्दको नाउँबाट त्रिपुरेश्वरको दशरथ रंगशाला र वैतडीमा दशरथ चन्द नगरपालिका नामाकरण गरिएपनि शहीद धर्मभक्तको नाउँमा कुनै अस्पताल या ठाउँको नाम राखिएको थिएन ।







































