आचारसंहिता उल्लंघनमा आयोग कडा, उम्मेदवारदेखि मुख्यमन्त्रीसम्मसँग स्पष्टीकरण

3

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा विभिन्न संघ–संस्थासँग स्पष्टीकरण सोधेको छ ।

आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओ सार्वजनिक भएपछि स्पष्टीकरण सोधेको हो । उम्मेदवारी दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूको टाउकोमा पैसा सिउँरिएको दृश्य सार्वजनिक भएपछि आयोगले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गरिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण माग्न लागेको हो ।

सरकारी स्रोतको प्रयोगप्रति प्रश्न

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । झापा–५ मा नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा सरकारी गाडी प्रयोग गरिएको विषयमा आयोगले चासो देखाएको हो । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा सरकारी स्रोत–साधन प्रयोग गर्न पाउँदैनन् ।

द्वेषपूर्ण अभिव्यक्तिमा पनि कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित र द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । मनोनयन दर्ताका क्रममा दलको झण्डा प्रयोग गरेको र २५ जनाभन्दा बढी व्यक्ति सहभागी गराएको विषयमा स्पष्टीकरण मागिएको हो । खरेलले जवाफ पठाइसकेका छन् । उनले अन्जानमा आचारसंहिता विपरीत काम भएको स्वीकार गर्दै आगामी दिनमा पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघ–संस्थालाई पनि स्पष्टीकरण

आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पनि स्पष्टीकरण सोधेको छ । एन्फालाई निर्वाचनसँग सम्बन्धित गतिविधि र राखेपलाई खेलकुदसम्बन्धी सम्मेलनको विषयमा स्पष्टीकरण मागिएको हो ।

चरणबद्ध कारबाहीको चेतावनी

निर्वाचन आयोगका अनुसार आचारसंहिता उल्लंघनमा सुरुमा तीन दिने स्पष्टीकरण सोधिने व्यवस्था छ । त्यसपछि २४ घण्टे अन्तिम स्पष्टीकरण र त्यसपछिसमेत आचारसंहिता नमान्ने व्यक्तिलाई कारबाही गरिनेछ । आयोगलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्ने अधिकार रहेको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले भने, “आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो । आचारसंहिता विपरीत गतिविधि भए सबैलाई स्पष्टीकरणमार्फत जिम्मेवार बनाइन्छ । आज मात्रै आठ वटा स्पष्टीकरण पत्र जारी भएका छन् ।”