आमादब्लमको चुचुरोमा युवा स्काउट पाण्डे

359

काठमाडौं ।
यसै वर्षको वसन्त ऋुतुमा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका युवा स्काउट प्रकाशराज पाण्डेले ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गरेका छन ।
गत हप्ता अर्थात २२ कात्तिक (८ नोभेम्बर)मा सो हिमालको सफल आरोहण गरेको आरोहणपछि काठमाडौं फर्केका पाण्डेले बताए ।

आरोहणको लागि आमादब्लम हिमाल विश्वकै तेस्रो जटिल (थर्ड मस्ट टेक्निकल माउण्टेन) हिमाल मानिन्छ । पाण्डेले आमादब्लम हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, विश्व स्काउट संगठनको झण्डा, विश्व स्काउटकै शान्तिको संवाहक (मेसेन्जर अफ पिस) को झण्डा र राष्ट्रिय युवा परिषदको झण्डा फहराएका थिए ।

हिमालयन एक्स्टासी -Himalayan Ecstasy_ ट्रेकिंग एण्ड एक्स्पीडिशन कम्पनी मार्फत गेसमान तामाङ्ग गाइडसंग पाण्डेले आमादब्लम हिमाल आरोहण गरेका हुन । विश्व स्काउट संगठनको आधिकारिक झण्डासहित सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पाण्डे विश्वकै पहिलो स्काउट मानिन्छन ।

पाण्डेले विश्व स्काउटका प्रर्वतक लर्ड वेडेन पावेलको नाउँमा नामाकरण गरिएको रसुवाको लाङटाङ्गस्थित ६ हजार ८९० मिटर अग्लो ‘वेडेन पावेल स्काउट हिमाल’ दुई पटक सफल आरोहण गरिसकेका छन् भने सोलुखुम्बुकै ६ हजार १६० अगलो हिमाल ‘आइल्याण्ड पिक’ पनि यसैवर्ष चढिसकेका छन् ।

रामेछाप, लिखु तामाकोशी गाउपालिका ७ तिल्पुंगमा जन्मेका पाण्ड हाल महालक्ष्मी नगरपालिका २ इमाडोलमा बस्दै आएका छन् । उनी विभिन्न विद्यालयमा स्काउट कक्षा सञ्चालन गदै आएका छन् ।