सिन्धुपाल्चोक ।
हेलम्बु क्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षण आमायाङग्रीसम्म सहज पहुँच बनाउन बागमती प्रदेश सरकारले ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ निर्माण प्रक्रिया तीव्र बनाएको छ। च्योमथाङ बेसक्याम्पदेखि आमायाङग्रीसम्म ट्रेल निर्माणको सम्भाव्यता अध्ययन तथा स्थल अवलोकन औपचारिक रूपमा सुरु भएपछि परियोजना कार्यान्वयनमा नयाँ गति आएको छ।
प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोलीले प्रस्तावित ट्रेल क्षेत्रको अनुगमन गरेको थियो। अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आमायाङ्री पुग्ने क्रम बढिरहेकाले सुरक्षित, व्यवस्थित र आकर्षक ट्रेल आवश्यक भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
स्थल अनुगमनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी तथा ऊर्जा मन्त्री कृष्ण कुमार तामाङ, प्रदेश सचिव दीपेन्द्र सुवेदी, पर्यटन इकाई का प्रमुख उत्तम चापागाईँ, प्राविधिक इन्जिनियर तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत स्थानीय प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो।
ट्रेल निर्माणका लागि संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत विनियोजित ४ करोड ५० लाख रुपैयाँलाई बहु वर्षीय योजनाको रूपमा स्रोत सुनिश्चित गर्न स्थानीयले तीन मन्त्रीसमक्ष आग्रह गरेका छन्। दीर्घकालीन पर्यटन पूर्वाधार विकासका लागि स्थिर वित्तीय संरचना अपरिहार्य भएको स्थानीयको भनाइ छ।
हेलम्बु गाउँपालिकाका अनुसार प्रस्तावित ‘ग्रेट ट्रेल’मा चौतारी, ढुंगेधारा तथा पुरातत्वीक महत्त्व झल्किने संरचनाहरू समेटिनेछन्। यसले हिमाली सांस्कृतिक पहिचान, प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैलीको संरक्षणमा प्रत्यक्ष योगदान गर्ने अपेक्षा राखिएको छ।
स्थानीय पर्यटन प्रवर्द्धनसहित ट्रेल निर्माणले हेलम्बु क्षेत्रको समग्र आर्थिक विकास, रोजगारी सिर्जना तथा समुदायमा दीर्घकालीन लाभ पुर्याउने विश्वास व्यक्त गरिएको छ। प्रदेश सरकारका अधिकारीहरूका अनुसार परियोजना पूरा भएपछि आमायाङ्री क्षेत्र ‘नयाँ ट्रेकिङ गन्तव्य’ को रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप चर्चित बन्नेछ।









































