काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षले अलग–अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् । चार प्रकारका आठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो ।
निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८–८ जना निर्वा्चित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा निर्वाचन हुनेछ ।









































