इआइए ढिलाइले महाकाली करिडोरको काममा असर

273

दार्चुला / सरकारको प्राथमिकतामा रहेको महाकाली करिडोर सडक निर्माणले अझै गति लिन सकेको छैन । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन ढिलाइले सो े काम रोकिएको हो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कूल २९१ किलोमिटर सडकखण्ड समयमै इआइए प्रतिवेदन नआउँदा सडकको ठेक्का नै अघि बढेको छैन्, दार्चुला तिङ्कर सडक योजना प्रमुख अच्युत पन्तले भन्नुभयो । ०७३÷७४ मा ८८ किलोमिटर सडकखण्डको मात्रै ठेक्का भएर काम अघि बढेको छ ।

बैतडी र दार्चुलामा पनि वन क्षेत्र पर्ने भएकोले सडक निर्माणले सोचेअनुरुप प्रगति हुन नसकेको उक्त योजनाले जनाएको छ । डडेल्धुरा, बैतडी र दार्चुला गरी तीन खण्डमा काम गरिएका बेला वातावरणीय प्रभाव मूल्याङ्कन नगर्न योजनामाथि दबाब परेको थियो । कञ्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्का भएको छैन । कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा बढी वन क्षेत्रपर्छ । “अहिले पनि इआइए प्रतिवेदन आइपुगेको छैन”, पन्तले भन्नुभयो, “निरन्तर चाँडो प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको छु । समयमै प्रतिवेदन आए नयाँ ठेक्का लगाएर करिडोरको काम अघि बढाउन सहज हुन्छ ।”

महाकाली राजमार्गको विकल्पका रुपमा छोटो रुपमा महाकाली नदीको किनारै किनार भएर करिडोर बनाउन लागिएकोे हो । महाकाली करिडोर चुरे वन क्षेत्र हुँदै बैतडी र दार्चुलाको अधिकांश वन क्षेत्रमा बन्न लागेको छ । “कार्यालयले पनि पछिल्लो समय वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको लागि ताकेता गर्नेे काम हुँदैछ, योजना प्रमुख पन्तले भन्नुभयो, “विगतदेखि नै कन्सल्टेन्सीले ढिलाइ गर्दै आइरहेको रहेछ । दार्चुला र बैतडीमा केही काम भए पनि कञ्चनपुर रडडेल्धुरा क्षेत्रमा भने ठेक्का लगाउनै सकिएको छैन ।”

महाकाली करिडोरमा जिइओसिई कन्सल्टेन्स्ले इआइएको जिम्मेवारी पाएको छ । जिइओसीका कार्यक्रम संयोजक लक्ष्मीकान्त मण्डलले मन्त्रालयले पछिल्लो समय शुरु गरिएको वाणी बुडर साढे १२ किलोमिटर सडकसमेत इआइए एउटैमा थपेपछि ढिलाइ भएको जानकारी दिनुभयो । “महाकाली करिडोरको प्रतिवेदन गत डिसेम्बरमा अन्तिम चरणमा चरणमा पु¥याएका हौँ”, उहाँले भन्नुभयो, “ वाणी बुडरको काम समेत यही कार्यक्रमअन्तर्गत समेटिएपछि ढिलाइ भएको हो । प्रतिवेदन चाँडो बनाउन आफूहरुसमेत लागेका छौँ ।”

अहिले महाकाली करिडोरअन्तर्गत बैतडीको बाराकोट सिल्लेकमा २२ किलोमिटर, बाराकोट हुँदै डडेल्धुरा जोड्ने जोगबुडा बडागाउँ १५ किलोमिटर साधारण बाटो खुलाइएको छ भने सल्सेन–धरमघर १० किलोमिटर, बेत– उकु–दार्चुला १० किलोमिटर तथा वीरेन्द्र वनदेखि राताकाठा क्षेत्रको सात किलोमिटर क्षेत्रमा साधारण बाटो खुलाइएको दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाका जोड्ने गरी शुरु गरिएको करिडोरको काममा इआइए बाधक बनेपछि अझै यो सडक निर्माणमा ढिलाइ हुुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । कहिले विस्फोटक पदार्थ अभाव तथा कहिले इआइए प्रतिवेदनका कारण सडक निर्माणले गति लिन नसकेको हो ।

योजना प्रमुख पन्तले भन्नुभयो, “यहाँ आएपछि सडक निर्माणलाई तीव्र गति दिने योजना बनाउँदैछु तर कार्यालयको लथालिङ्ग अवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ढिलाइ तथा निर्माण व्यवसायीको लापर्वाहीले गर्दा थोरै समस्या छ ।
करिडोरअन्तर्गत गत वर्ष रू १९ करोड ९८ लाख ९५ हजार खर्च भएको थियो भने चालू आवको हालसम्म ३९ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

म्याद नथपिएका दर्जन ठेक्का

महाकाली करिडोरअन्तर्गत दार्चुला तिङ्कर सडकमा सञ्चालित एक दर्जन ठेक्काको म्याद थपिएको छैन । हरेक वर्ष ठेक्का लागेका छन् । तर उनीहरुले समयमै काम कसैले गरेका छैनन् । काम लिएर भाग्ने र समय गुजारेर म्याद थप्ने गरेका निर्माण व्यवसायीहरुको भने पछिल्लो समय म्याद थप गरिएको छैन ।

आव ०६७÷६८ बाट ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै ठेक्का सकेका छैनन् भने उनीहरुको पाँच वर्षयता म्यादसमेत थप गरिएको छैन । हाल दार्चुला तिङ्कर सडकअन्तर्गत १३ वटा ठेकेदार कम्पनीमध्ये दुई वटा कालो सूचीमा छन् भने दुई वटाको समयावधि थपिएको छ

धौलाकोट पुग्दै सडक

आव ०६५÷६६ बाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक दश वर्षपछि व्यास गाउँपालिका–५ धौलाकोट पुग्दैछ । यसै आवभित्र व्यास गाउँपालिकाको केन्द्र सुनसेरा सडक पु¥याउने गरी सडकको काम भइरहेको छ ।

पछिल्लो समय विस्फोटक पदार्थ उपलब्ध भएपछि सडकले थोरै गति लिएको हो । अहिले पनि निरन्तर रुपमा काम भइरहेको छ । सदरमुकाम खलङ्गादेखि धौलाकोटसम्म ३५ किलोमिटर सडक पर्छ । कडा चट्टानका कारण लामो समय ब्रह्मदेवको राताकाठा भिर, पीपलचौरीको विजयपुर भिर तथा तङ्ले भिरमा बढी समय लागेको छ । अहिले पनि हुती र धौलाकोट सीमा क्षेत्र नजीकैको डखा भिरको कारण सडक निर्माणमा ढिलाइ देखिएको दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताउनुभयो ।

Source link