उज्ज्वल तारा ‘दशैं रन फर गुड हेल्थ‘ हुने

336

काठमाडौं, । उज्ज्वल तारा स्कुल काँडाघारीले वडादशैंको अवसरमा यही २७ असोज शनिवार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा सो दौड आयोजना हुन लागेको हो ।
स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडादशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्य सहित विद्यालय प्रांगणबाट शुरु गरिने सो दौड महिलाका लागि ३ किलोमिटर तथा पुरुषहरुका लागि ५ किलोमिटरको दुरी निर्धारण गरिएको छ ।


विद्यालयका संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक नेपाली सेनाका कर्णेल विष्णु बहादुर कार्कीका अनुसार सो दौडमा १५ वर्षदेखि माथिको उमेरका महिला तथा पुरुषले भाग लिन सक्नेछन । कर्णेल कार्कीका अनुसार सो दौडमा अभिभावक तथा वर्तमान या सेवानिवृत्त सुरक्षाकर्मी समेतले भाग लिन पाउनेछन । यसैगरि महिला तथा पुरुषका लागि ५ किलोमिटरसम्म हिँड्ने प्रतियोगिता पनि समावेश गरिएको छ ।
प्रतियोगितात्मक सो दौडका १७ वटा विधामा पहिलो, दोस्रो र तेस्रा हुनेलाई ट्रफि, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसका लागि ५१ वटा ट्रफिको व्यवस्था मिलाइएको छ ।
यसै सिलसिलामा मंगलबार उज्ज्वल तारा स्कुलमा काँडाघारी क्षेत्रका सुरक्षाकर्मी, खेलकूदसंग सम्वन्धि संघसंस्था तथा स्थानीय जनप्रतिनिधिहरुलाई सहभागी गराइ छलफल कार्यक्रमको आयोजना गरियो ।
छलफलमा कार्यक्रम संयोजक कर्णेल कार्कीले दौडका विविध पक्ष तथा सुरक्षा र प्रतियेगिताका सहभागीहरुको स्वास्थ्यसंग सम्वन्धि विविध विषयमा प्रकाश पार्नुभएको थियो ।