उद्धार र राहतको लागि रेडक्रसकर्मी र स्काउटलाई निर्देशन

448

 

काठमाडौं ।

आइतबार रातीदेखि मुलुकभरी अविरल रुपमा परेको झरिका कारण हुनसक्ने संभावित जनधनको क्षतिमा तत्काल उद्धार तथा राहतका लागि सरकारले सबै जिल्लाका विपत् व्यवस्थापन समितिलाई उच्च सर्तक रहन निर्देशन दिएको छ ।

गृहमन्त्रीको अध्यक्षता रहने विपत् व्यवस्थापन सम्वन्धि राष्ट्रिय कार्यकारी समितिमा नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटलगायत सदस्य रहने प्रावधान छ ।

उता प्राृकतिक विपत्तिमा सहयोग गर्दै आएको नेपाल स्काउटले सबै जिल्लाका स्काउटलाई तथा रेडक्रस सोसाइटीले सबै जिल्लाका रेडक्रसकर्मीलाई ‘तयारी अवस्थामा रहन’ निर्देशन दिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधानको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय समितिको आकस्मिक वैठकले विशेष गरि वाढी र पहिरो प्रभावित जिल्लाका रेडक्रसकर्मीलाई प्राथमिक उपचार सामाग्री र अन्य उद्धार र राहत सामाग्रीसहित तयार रहन निर्देशन दिएको हो ।

सो आकस्मिक वैठकमा रेडक्रसका कार्यकारी अधिकृत इन्द्रबहादुर केसी, विपत व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डे र सबै विभागका प्रमुखहरुको सहभागिता थियो ।

‘प्राकृतिक प्रकोपबाट मृत्यु भएका र घाइतेको अवस्था हेरि केही नगद सहयोग गर्न पनि हामीले सम्वन्धित जिल्ला शाखालाई निर्देशन दिएका छौं’ केन्द्रीय कोषाध्यक्ष प्रधानले भने ।

यता स्काउटको सिद्धान्तअनुसार जुनसुकै बेलामा तयार रहनुपर्ने स्काउटलाई प्राकृतिक विपद्का बेलामा अझ चनाखो भई तयार रहन निर्देशन दिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले बताए् ।

प्राकृतिक विपत्तिमा सहयोग गर्न नेपाल स्काउटले केहीवर्ष अघिदेखि नै मुलुकका २४० वटै निर्वाचन क्षेत्रका स्काउटलाई विपत् व्यवस्थापन तालीम दिएको थियो ।