उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल विलियार्ड हलको पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँको पहिचान

1182

राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति १९ जेठ २०५८ को त्यो हत्याकाण्डमा मारिएका थिए।

उनीहरुका अलवा शाही परिवारका अन्य सदस्यहरु पनि दरवार हत्याकाण्डमा मारिए। तर, शाही परिवारको संहार भएको त्यो स्थल घटना भएको तीन वर्ष पुग्दानपुग्दै भत्काउन लगाइयो।

त्रिभुवन सदनको विलियार्ड हलका रुपमा चिनिने सो भवन तत्कालिन राजा ज्ञानेन्द्रले भत्काउन लगाए।

विलियार्ड हलको प्रमुख बैठक कक्ष, जहाँ राजासहित शाही परिवारका सदस्य बस्थे

त्रिभुवन सदनको त्यही विलियार्ड हल नारायणहिटी दरवार संग्रहालले निर्माण गरेको हो।

अहिले दरवार हत्याकाण्ड भएको सो हलमात्र संग्रहालयले बनाएको छैन, दरवार हत्याकाण्डका बेला त्यहाँ रहेका सामाग्रीहरु खोजेर जस्ताको तस्तै राख्ने प्रयास समेत गरिएको छ।

विलियार्ड सहितको हल

नवनिर्मित हलमा त्रिभुवनको पालादेखि रहेको विलियार्ड खोजखन्तर गरी राखिसकिएको छ भने भने फेला परेका केही सोफापनि पहिलेकै स्थितिमा राखिएको छ। यसैगरी हलमा बिछ्याइएका गलैँचाहरु पनि खोजविन गरी पूर्ववत अवस्थामा ल्याएर राखिएका छन्। गलैँचामा मृत्यु र घाइते भएका शाही परिवारको रगतका टाटा भएपनि त्यसलाई पखालिएको छ।

त्रिभुवन सदनको विलियार्ड हल पुरै भत्काइए पनि जग चाहिँ जस्ताको तस्तै रहेका कारण त्यही रुपमा पुनर्निर्माण सम्भव भएको हो। संग्रहालय प्रमुख रोहितकुमार ढुंगानाका भनाईमा पुरानो तस्वीरका आधारमा हलको भित्री भाग जस्ताको तस्तै निर्माण गरिएको छ। ढोकाहरु पनि झण्डै उस्तै छन्।

विलियार्ड हलको उत्तरी कुनो, जहाँ हत्याकाण्डको रात पारस शाहसहितका शाही युवाहरू थिए

रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजन विलियार्ड हल बाहिर मारिएका थिए। उनीहरु मारिएको ठाउँ अहिलेपनि संग्रहालय अवलोकन गर्न जाने मानिसहरुले देख्न पाउँछन्। तर विलियार्ड हल भत्काइएकाले गोली लागेपछि राजा वीरेन्द्र कहाँ ढलेका थिए, त्यो पहिचान गर्न सकिने स्थिति थिएन।

पुनर्निर्माणपछि भने राजा वीरेन्द्र ढलेको ठाउँपनि पहिचान गर्न सकिएको ढुंगाना बताउँछन्।

विलियार्ड हलको दक्षिणी कुनो र विलियार्ड स्टिकहरू

त्यहाँ बिच्छ्याइएको गलैँचा जस्ताको तस्तै रहेको र पुरानै जगका आधारमा विलियार्ड हलको निर्माण गरिएकाले त्यो सम्भव भएको हो।

दरवार हत्याकाण्डपछि खिचिएको गलैँचाको तस्वीरमा देखिने रगतको टाटा लागेको ठाउँ र हाल उही आकारको हलमा बिच्छ्याइएको गलैँचाको दुरी यकिन हुनासाथ वीरेन्द्र ढलेको ठाउँ लोकेट गर्न सहज हुने स्थिति छ।

हलको निर्माणकार्य सकिएपनि हत्याकाण्डका बेला त्यहाँ रहेका सामाग्री खोज्न संग्रहालयलाई समस्या परेको छ। त्रिभुवन सदन पछिल्तिरको नानीगञ्ज नामक भवनमा भेटिएका सामाग्री त्यहाँबाट ल्याएर राखिएको छ भने कतिपय सामाग्री कहाँ छन्, त्यो अझै पत्ता लाग्न सकेको छैन।

ढुंगाना भन्छन्, ‘सकभर सबै सामाग्री खोजेर हलमा राख्ने काममा लागिपरेका छौँ।’