काठमाडौैं– काठमाडौंको एक कलेजमा अध्ययनरत पवि क्षेत्रीलाई करिब ३ महिलाअघि एउटा ‘फ्रेन्ड रिक्वेष्ट’ आयो। ब्रायन नामक बेलायतीको ‘फ्रेन्ड रिक्वेष्ट’ थियो त्यो।
नचिनेको व्यक्तिको ‘फ्रेन्ड रिक्वेष्ट’ रिक्वेष्ट स्वीकार गर्दा ५१ लाख गुमाउनुपर्छ भनेर उनले सोचेकी पनि थिइनन्। तर, ब्रायनले नाटकीय शैलीमा उनलाई जालमा फसाए ।
फेसबुकमा साथी बनेपछि उनीहरुबीच च्याट हुन थाल्यो। ब्रायनले आफु बेलायतको धनाढ्य व्यवसायी भएको भन्दै उनलाई प्रभावमा पारेका थिए। आफ्नो कोही पनि नभएको भन्दै सहयोगको प्रस्ताव समेत गरे।
पवि उनीसँग प्रभावीत हुँदै गइन्। उनले आफ्नी साथी लक्ष्मी देवी चपाईलाई पनि बताइन्। ब्रायनसँग उनीहरुको फोनमा पनि कुरा हुन थाल्यो।
त्यहीबीचमा एकदिन ब्रायनले एउटा फोटो पठाउँदै भने,‘यो गिफ्ट मैले तिम्रो लागि किनेको।’
उनी दंग भइन्। त्यसको केही दिनपछि दिल्लीको एयरपोर्ट भन्दै एक व्यक्तिबाट फोन आयो। ४० हजार पाउण्ड र करोडौं पर्ने हिराका गहना आएको भन्दै फोन आएको थियो। त्यसका लागि केही कर तिर्नुपर्ने भन्दै पैसा पठाउन फोन आउन थाल्यो।
बिद्यार्थी भएकाले उनीहरुसँग पैसा थिएन। दुवैले आफुहरु स्पेन जाने पक्का भएको भन्दै आफन्तहरुसँग सोही बहानामा पैसा उठाई भारतमा पठाए। भारतबाट गिफ्ट आएपछि त्यही बेचेर पैसा तिर्ने उनीहरुको योजना थियो।
पटक पटक पैसा पठाउँदा पनि उनीहरुको बहुमुल्य उपहार आएन। ब्रायनले आफुले उपहार पठाइसकेको र भारतमा समस्या भएको हुनसक्ने भन्दै टाढिदै गए। उता भारतबाट करको रकम नपुगेको भन्दै थप पैसा माग भइरहेको थियो। उनीहरुको खुशी चिन्तामा परिणत भइरहेको थियो। त्यतीबेलासम्म उनीहरुले ५१ लाख रुपैयाँ पठाइसकेका थिए।
त्यसपछि शंका लागेर उनीहरु प्रहरीमा गएका हुन्। ‘यसरी गिफ्ट पठाउने भनेर ठगी गर्ने घटना धेरै भएका छन्,’ काठमाडौं परिसरका एक प्रहरी अधिकृतको यस्तो जवाफ सुनेपछि आफुहरु ठगिएको ठानेर जाहेरी दिए।
काठमाडौं प्रहरीले ठगीमा सहयोग गर्नेहरुलाई मात्र पक्राउ गरेको छ। तर, मुख्य गिरोहका नाइकेलाई पक्राउ गर्न सकेको छैन ।
उनीहरुलाई हुन्डीमार्फत करको रकम पठाउन लगाइएको थियो। त्यसरी हुन्डीमार्फत पैसा पठाउन उनीहरुले कुरियरमा काम गर्ने जयराम कार्कीलाई पैसा दिएका थिए। कार्कीले खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनल नामक कम्पनीका प्रबन्धक नारायण अग्रवाललाई पैसा दिएका थिए। नारायणले पंकज अग्रवाललाई दिल्लीमा पैसा पठाएका थिए। नारायण हाल फरार छ्न। त्यस्तै उनीसँगै हुन्डीको काम गर्ने राकेश गुप्ता पनि फरार रहेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।







































