भक्तपुर । सुन्दा अचम्म लाग्ला एक त्यान्द्रो परालको पाँच रुपयौं देखि दश रुपैंया सम्म पर्छ भन्दा ।
तर यो सत्य हो । अहिले भक्तपुर याछेंका चन्द्रभक्त लवाःले एक त्यान्द्रो पराल पाँच देखि दश रुपैंया सम्म विक्री गर्दै आउनुभएको छ ।
६९ बर्सिया चन्द्रभक्त लवाःले हाल एक एक त्यान्द्रो परालबाट बनेका ङखः बनाउन व्यस्त रहेका छन् । ङखः अर्थात् परालबाट बनेको सिङ हो । जुन गाईजात्राको लागि नभई नहुने चिज हो ।
चन्द्रभक्त लवाको दिन चर्या हाल उक्त सिङ बनाउन नै व्यस्त हुँदै आएको छ ।
करिब दुई वर्ष अगाडी मात्र उहाँले उक्त सिप सिक्नु भएको थियो । जहिले गाईजात्रा आउँदा मात्र परालको सिङ बनाएको उहाँले सानो बेला देखि नै देख्दै आउनुभएको थियो । आफ्नै टोलमा पनि यो काम गर्ने नभएका हैनन् उनीहरूले बनाउँदै आएका पनि थिए तर उहाँले भने दुई वर्ष अगाडी कसरी बनाउन रहेछ भनेर सिक्ने हुटहुटी जाग्यो र उहाँ सिक्न जानु भयो ।
काम सिके सँगै केही ङखः पनि उहाँले बनाउनुभयो । त्यो विक्री भएको देखेर उहाँलाई यो वर्ष झन् धेरै बनाउने हुटहुटीले थेगी सक्नु भएन ।
अघिल्लो वर्ष एक कल्ली पराल ३० देखि ४० रुपैंयामा किन्नु परेको जुन निकै महँगो भएका कारण उहाँले यो वर्ष त एक टिप नै पराल किनेर ल्याएको सुनाउनुभयो ।
कपाल, दारी फुलेका हात अनि गालामा चाउरी परेका एक जना बाटोको डिलमा बसेर परालको रोल जस्तो बनाउँदै र ङखः बनाउन लागेको देख्न धेरैलाई अचम्म लाग्ने गरेको छ ।
उहाँले यो वर्ष गाईजात्रामा मात्र १५ हजार भन्दा बढी आम्दानी गर्ने सोच बनाउनुभएको उहाँले सुनाउनुभयो ।
एक त्यान्द्रो परालबाट पनि सानो ङखः बन्ने बनाउँदै यो तस्बिरमा राख्नको लागि लगिने उहाँले बताउनुभयो ।
सानो एक त्यान्द्रो बाट बनेको ङखःको पाँच देखि दश रुपैंया पर्छ भने आफूले बनाएको विभिन्न आकारको ङखःको विभिन्न मूल्य भएको समेत उहाँले बताउनुभयो ।
आफूले हेर्न पाए र सिक्न पाए जस्तो पनि ङखः बनाउन सक्ने बताउँदै आफूले बनाएको ङखः बडीमा तीन सय रुपैंया सम्मको मात्र भएको समेत बताउनुभयो ।
काठमाडौँ ललितपुर भक्तपुर बनेपा लगायतका स्थानबाट पनि ङखः किन्न मानिसहरू आउने गरेको बताउँदै उहाँले अहिले आफूलाई यो बनाउनुको हुटहुटी मात्र भएको बताउनुभयो ।
आफ्नो संस्कृतिको जर्गेना गर्नु पर्ने बताउँदै उहाँ भन्नुहुन्छ अव त पराल छ्वाली नै पाउन गारो भई सक्यो यस्तै अवस्था रहने हो भने नेवारका विभिन्न परम्परा जोगाउन पनि मुस्किल हुने छ ।
ङखः के गर्न प्रयोग गरिन्छ त
ङखः अर्थात् सिङ गाईजात्रामा प्रयोग हुने एक बस्तु हो । मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्राका क्रममा बाँसको खट वा तस्बिर मात्र वा अन्य जे जसरी गाई निकाले पनि ङखःको प्रयोग भने अनिवार्य नै रहेको छ ।
ङखः विना कुनै पनि गाई नै निकालिँदैन । यसको प्रयोग जात्रामा गाई निकाल्दा तस्बिर अन्य जे निकाले पनि यसमा प्रयोग गरिन्छ ।
एक जनाको गाई निकाल्दा एक जोडी ङखः को प्रयोग हुने गरेको छ ।