भक्तपुर । आर्थिक वर्ष २०८०-८१ को वैशाख मसान्तसम्ममा उपत्यकामा मात्र ६ हजार ८३१ दुर्घटना भएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशभर भएको सवारी दुर्घटनाको सङ्ख्या २१ हजार २९८ रहेको जानकारी दिएको छ । यसमध्ये पनि सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६ हजार ८३१ र मधेश प्रदेशमा ६ हजार २४९ दुर्घटना भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै यस आर्थिक वर्षमा कोशीमा ३ हजार ९२४, बागमतीमा २ हजार ४१, गण्डकीमा २१५, लुम्बिनीमा ५६४, कर्णालीमा १ हजार २४५ र सुदूरपश्चिम प्रदेशमा २२९ सवारी दुर्घटनाको तथ्याङ्क छ ।
अघिल्लो आर्थिक वर्षमा उपात्यकामा मात्र १० हजार ७३३ दुर्घटना
आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ । यसमध्ये काठमाडौँ उपत्यकामा १० हजार ७३३ र मधेश प्रदेशमा ५ हजार ७११ सवारी दुर्घटना भएको कार्यालयले जानकारी दिएको छ ।
उक्त वर्ष कोशीमा ३ हजार ८२०, बागमतीमा १ हजार ७९८, गण्डकीमा ४०८, लुम्बिनीमा १ हजार १६४, कर्णालीमा ४०२ र सुदूरपश्चिम प्रदेशमा ५०१ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ ।
कसरी हुन्छ दुर्घटना
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सडक दुर्घटनाको विभिन्न कारणमध्ये रोड इन्जिनियरिङ पनि एक प्रमुख कारण हो । “सवारी दुर्घटना हुने विभिन्न कारणहरूमध्ये रोड इन्जिनियरिङ पनि एक प्रमुख कारण हो । सडकको घुम्ती, खाल्डाखुल्डी व्यवस्थापन गर्नर्पयो । हम्पीडम्पी सडक हुन भएन । यस्तो सडकमा गाडी उफ्रने हुँदा दुर्घटना हुन सक्छ, गाडी बाङ्गिन्छ, खाल्डोमा पर्छ । घुम्तीमा गाडी ठोकिने गर्छ, यसले पनि दुर्घटना हुन्छ ।”
यस्तै अर्को सवारी चालकको ज्ञान र अनुशासन हो । सवारी ठिक ढङ्गले चलाएन भने दुर्घटना निम्तिन सक्छ । लेन अनुशासनमा बसेन भने, मादक पदार्थ, लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने सम्भावना रहन्छ । यसलाई चालकको लापरबाही वा अज्ञानता भन्न सकिन्छ, त्यसरी नि थुप्रै दुर्घटना हुने गरेको छ ।
यस्तै खराब मौसमका कारण सवारी दुर्घटना हुने गरेको छ । सडकमा हुस्सु लागेको बेलामा अगाडि बाटो, लेन राम्ररी देखिन्न । धेरै वर्षा भएपछि चालकलाई डिस्टर्व गर्न सक्छ । धेरै धुलो उड्ने बाटोमा मोटरसाइकल चालकहरूलाई अप्ठ्यारो हुन्छ । सडकमा बिस्कुन सुकाइदिने, गाईबस्तु छोड्ने, भौतिक संरचनाहरू बलियो नहुँदा पुल भत्किने, सडकको दायाँबायाँ राखिएका वार्निङ चिन्हहरू भएनन् भने पनि सडक दुर्घटना हुने गर्दछ ।
यस्तै कम क्षमताको सडकमा बढी भारको गाडी गुडाउँदा पनि दुर्घटना बढने विज्ञहरुको भनाई रहेको छ ।
नेपालको भौगोलिक अवस्था बाटोको बनावट र मौसमका कारण तथा सावरी कम यात्रु ज्यादा हुँदा पनि दुर्घटना हुने गरेको छ ।