
भक्तपुर । अब नेपालका एचआईभी एड्स लागेकाहरुले जीवन बीमा गर्न पाउने भएका छन् ।
राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले प्राइम लाइफ इन्सुरेन्ससँग एचआईभी संक्रमितहरुको जीवन बीमा गर्ने सहमति गरेको हो ।
यसअघि प्राणघातक एचआईभी एड्स लागेकै कारण संक्रमितहरुले जीवन बीमा गर्न पाइरहेका थिएनन् । उनीहरुलाई जीवन बीमामा भेदभाव थियो ।
तर एनएपीएनसँगको सहमतिपछि प्राइम लाइफले विनाभेदभाव संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने भएको छ ।
उक्त सम्झौतापत्रमा एनएपीएनका अध्यक्ष राजेश दिदिया र प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
त्यस्तै एनएपीएनका कार्यक्रम अधिकृत प्रकाशनाथ योगी र प्राइम लाइफका अधिकृत दिनेश सुवेदी सम्झौताको साक्षी बसेका छन् ।
उक्त सम्झौतामा हस्ताक्षर हुनु नेपालको एचआईभी एड्सको क्षेत्रमा अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि भएको एनएपीएनका अध्यक्ष दिदियाले दावी गरे ।
उनका अनुसार यसअघि एचआईभी संक्रमितले चाहेर पनि जीवन बीमा गर्न पाइँदैनथ्यो ।
‘यस सम्झौतासँगै एचआईभी संक्रमित र उनका परिवारले जीवन बीमा गर्न पाउने भएका छन्’, उनले भने, ‘यसले संक्रमितलाई समेत स्वस्थ हुन नियमित औषधि सेवन गर्न दबाब पर्छ ।’

अहिले एचआईभी संक्रमणको क्षेत्रमा नयाँ नयाँ औषधि प्रयोगमा आइरहेका छन् । जसले संक्रमितको जीवन लम्ब्याउनुका साथै उक्त औषधिको प्रयोगले संक्रमितले अरु सामान्य मानिससरह श्रम गर्न सक्छन् ।
त्यसलाई व्यवहारमै पुष्टि गर्न बीमाले टेवा पुग्ने अध्यक्ष दिदिया बताउँछन् ।
प्राइम लाइफ इन्सुरेन्सका अधिकृत सुवेदीले सम्झौताअनुसार एकजना संक्रमितले जीवन बीमा गरे उनको परिवारमध्ये थप एक सदस्यको निःशुल्क बीमा गरिने जानकारी दिए ।
‘संक्रमितले जति रकमको बीमा गर्नुहुन्छ’, उनले भने, ‘त्यति नै रकम बराबरको उनको परिवारका एक सदस्यको निःशुल्क बीमा गरिदिन्छौं ।’
उक्त व्यक्तिको प्रिमियम प्राइम लाइफ र एनएपीएनले भुक्तानी गरिदिने उनको भनाइ थियो । उनका अनुसार निःशुल्क बीमा गरिएका व्यक्तिलाई बोनस तथा ब्याज भने दिइनेछैन । उनलाई चोखो बीमाको रकममात्रै भुक्तानी गरिनेछ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेका छन् । त्यसमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरु बढी संक्रमित छन् । नेपालका वयस्क जनसंख्यामा एचआईभीको व्याप्ततादर ०.१५ प्रतिशत रहेको छ ।
कूल संक्रमितमध्ये १५ हजार दुई सय ४० जना संक्रमितमात्रै नियमित उपचारमा रहेको केन्द्रको तथ्यांक रहेको छ ।
Related