भक्तपुर । मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुलले आइतबार विद्यालय परिसरमा बौद्ध परम्परा अनुसार विद्यार्थीहरुबाट मुनिविहारका भिक्षुहरुलाई मुठ्ठीदान कार्यक्रममा सहभागी गराएको छ ।
मुनिविहारका प्रमुख भिक्षु विपश्वी महास्थवीरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मुनिविहारका भिक्षु तथा भन्तेहरुको साथै थाइल्याण्डबाट आएका बौद्ध भिक्षुहरुको साथै मुनिविहारका श्रामणेर (बौद्ध विद्यार्थी) गरि ५४ जना सहभागि थिए ।
मुनिविहारका प्रमुख, भिक्षु विपश्वी महास्थवीरले बौद्ध शिल प्रार्थना गराएका थिए भने विद्यालयको परियति कक्षाको विभिन्न तीन चरण उतिर्ण गरेका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
विद्यालयको परियति क्लवकी संयोजक पल्पसा शाक्यका अनुसार विद्यालयले बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष विद्यालयमा मुठ्ठीदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
२५६२ औं बुद्धजयन्तीको अवसरमा आयोजित मुठ्ठीदान कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरुले आफैंले घरबाट चामल, भेटी, फलफूल तथा विस्कुट ल्याएका थिए ।
विद्यार्थीहरुमा सानैदेखि दानको भावना जगाउन तथा बौद्ध भिक्षुहरुको जीवनशैलीबारे ज्ञान दिन यसप्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा आयोजना गरिएको यो तेस्रो मुठ्ठीदान हो भने परियति कक्षा सञ्चालन गरेको ५ वर्ष भयो ।







































