औषधिको ट्याव्लेटसँग धर्म बेच्न बाध्य छन् विपन्न चेपाङहरु

310

काठमाडौं। राक्सिराङ गाउँपालिका–२ कि रुपवती चेपाङको दैनिकी फेरिएको छ। पहिले नजिकैको पलासको फेदमा गएर आफ्नो ईष्ट देवतालाई सम्झिने उनले अहिले आफ्नो ईष्ट देवलाई नसम्झिएको पनि ४ महिना भयो। पहिले नयाँ मान्छे आउँदा बोल्न लजाउने उनी अहिले शिर ठाडो बनाएर कुरा गर्न सक्ने भएकी छिन्। पहिले विरामी हुँदा जाने गरेको धामी बाको घर पनि अहिले उनको लागि विरानो भएको छ।

रुपवतीको दैनिकीमा केही परिवर्तन भएपनि जीवनशैली भने बदलिएको छैन। विहान एकछिन् भ्याकुर खोज्ने र सिस्नुको मुन्टा टिप्ने उनको दैनिकी टुटेको छैन। तर, शनिबार विहान भने हिजोआज उनी कुनै काम गर्दिनन् बरु आफ्नी ३ छोरीहरुसहित चर्चमा जाने गर्छिन्। त्यसो त काम नभएको शनिवार चाहिँ उनको श्रीमान् पनि चर्चमा पुग्छन्।

रुपवतीको ईसाई यात्राको कहानी कम दर्दनाक छैन। साउन महिनामा कान्छी छोरी मैयालाई झाडा पखाला लाग्यो। उनले अस्पताल सुनेपनि त्यहाँ जाने भन्ने कुरा उनको लागि अहिलेसम्म पनि नौलो नै हो। त्यसैले छोरी विरामी भएपछि उनी नजिकैको धामी बाकोमा गईन्। धामीबाले धेरै विधि विधान पुरयाएर झारफुक गरे। तर, धामीबाको झारफुकले मैयाँको रोग निको भएन। औषधी भनेर रुपवतीले मैयाँलाई चिराईँतो र गिठ्ठाको जरा पनि खुवाएकी हुन्। तर, यसले पनि उनलाई छोएन।

मैयाँको रोग निको नहुँदा रुपवती धेरै नै आत्तिएकी थिइन्। तर, त्यसैवेला गाउँ घुम्दै आएका अपरिचित ४ महिलाहरुको टोलीले मैयाँलाई एउटा ट्याब्लेट दिए जसले उनको रोग निको भयो। त्यसपछि ती महिलाहरुको गाउँघरतिरको आवतजावत पनि बाक्लियो। र, उनीहरुकै संगतको कारण रुपवतीको ईसाई यात्रा सुरु भयो। रुपवती धर्म परिवर्तन गर्दै ईसाई बन्न पुगिन्। र, उनको हरेक शनिवार विहानको चर्च यात्रा र प्रार्थना पनि सुरु भयो।

त्यही वडाका हर्क बहादुर चेपाङ भने अलि पुराना ईसाई हुन्। आफ्नै घर नजिक रहेको चर्चमा हरेक साता छिमेकीहरु जाने र “प्रभुको शरणमा जाँदा कुनै पनि समस्या हुँदैन” भनेको सुनेर उनी पनि ईसाई बनेका हुन्। “जति गरेपनि आफ्नो दुख जहाँको त्यही भयो हजुर, छिमेकीले सबै समस्या समाधान हुन्छ भनेकाले चर्च जान थालेको हुँ”, हर्क वहादुर भन्छन्। तर, चर्च जान थालेपछि पनि उनको समस्या भने जस्ताको त्यस्तै छ। ज्याला मजदूरी गर्ने उनी त्यो पैसाले ६ महिनाको गर्जा टार्न पनि सक्दैनन्। ज्यालादारीवाट आएको पैसाले खान नपुगेर उनी शिकार गरी जिविका चलाउन बाध्य छन्।

रुपवती र हर्कवहादुरको जस्तो पीडा राक्सिराङ गाउँपालिकाको सबैजसो वडामा देखिने समस्या हो। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकामा आधाभन्दा धेरै मानिसहरु ईसाई धर्म अपनाउन थालिसकेका छन्। यसरी इसाई धर्म अपनाउन थालेका स्थानीयहरुसँग कुरा बुझ्दा कोही मीठो खानको लागि, कोही एकसरो लगाउनको लागि त कसैले विरामी हुँदा एउटा सिटामोलको लागि आफ्नो धर्म परिवर्तन गर्ने गरेका छन्।

यो बस्तीमा स्वास्थ्यको समस्या एउटा जटिल समस्याको रुपमा विद्यमान छ। गाउँपालिकाले दिएको जानकारीअनुसार गाउँपालिकाभरी चेपाङको संख्या १३ हजार २ सय ३४ जना छ। यसमध्ये स्वास्थ्य संस्थामा कूल जनसंख्याको मुस्किलले २५ प्रतिशत चेपाङहरु विरामी हुँदा स्वास्थ्य संस्था जाने गरेका छन् भने बाँकीको भर त्यही जडिबुटी एवं कन्दमूल र धामी झाँक्रीमा अडिने गरेको छ।

अधिकांशलाई विरामी हुँदा स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतना समेत छैन। “अहिलेसम्म विरामी हुँदा हाम्रै जडिबुटीहरुले उपचार गर्ने गरेको हो। अस्पताल अहिलेसम्म टेकेको छैन”, रुपवतीले भनिन्। उनीहरुमध्ये धेरैमा अस्पताल गएपछि पैसा तिर्नुपर्छ भन्ने छ जसका कारण उनीहरु अस्पताल जान डराउछन्। “पैसा माग्छन् रे हामीसँग विहान बेलुका खानेकुरा छैन। कसरी तिर्नी पैसा ?’ रुपवतीले गुनासो गरिन्।

गाउँपालिकाको तथ्यांकअनुसार अहिले गाउँपालिकाबाट ९८ जना वैदेशिक रोजगारीमा गएका छन् भने यो समुदायमा अहिलेसम्म ६१ जनाले औपचारिक शिक्षा लिएका छन्। उनीहरुको आर्थिक स्थिती तुलनात्मक रुपमा केही माथि भएपनि बाँकी अधिकांश चेपाङहरु अहिले पनि विहान बेलुकी कन्दमूलको भरमा बाँच्न बाध्य छन्। गाउँपालिका अध्यक्ष मल्लले अहिलेपनि अधिकांश चेपाङहरु विहान बेलुका कन्दमूल र गिठ्ठा भ्याकुरको भरमा गुजारा चाल्ने गरेको भेटिएको बताए। यो समुदायका महिलाहरुको दैनिकी साग सिस्नु खोज्ने, माछा मार्ने र गिठ्ठा खोज्ने रहेको छ भने पुरुषहरु विशेषगरी ज्याला मजदूरी गर्ने र बाँकी समय शिकार गर्ने गर्छन्।

सरकारले यस्तै विपन्न परिवारको लागि भनेर नै विभिन्न किसिमका औषधिहरु निशुल्क गरेको छ।  सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थाहरुलाई आफूले उपलव्ध गराएको ७० प्रकारका निशुल्क औषधिको विवरणबारे आम सर्वसाधारणले देख्ने गरी राख्नको लागि एक वर्षअघि परिपत्र गरेको थियो। स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशाखाले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालहरुलाई निशुल्क औषधिको विवरण देखिने गरी राख्न पुनः परिपत्र गरेको हो। तर, स्वास्थ्य संस्थामा नै आउने यी विपन्न समुदायको लागि भने सो नियम अझैसम्म लागू भएको छैन।

अहिले स्वास्थ्य चौकीबाट ३५ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निशुल्क वितरण हुँदै आएको छ। तर, विपन्न क्षेत्रलाई यस्ता औषधिहरु निशुल्क पाईन्छ भन्ने ज्ञान समेत छैन जसले गर्दा लक्षित वर्गका अधिकांशले यो सुविधा लिन सकिरहेका छैनन्।