महेन्द्रनगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र सोही नगरपालिकाको वडा नम्बर १० का ४७ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार पीडित नाबालिकालाई जङ्गलभित्र लगी जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। “घटनाबारे हामीले आवश्यक सूचना संकलन गरी दुवै जनालाई नियन्त्रणमा लिएका छौं। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक थापाले भने।
घटनाप्रति स्थानीयवासीले गहिरो चिन्ता र आक्रोश व्यक्त गरेका छन्। पीडित नाबालिकालाई आवश्यक स्वास्थ्य तथा मनोसामाजिक परामर्श उपलब्ध गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाविरुद्ध बलात्कारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।





































