वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनसँग प्रतिस्पर्धा गर्दै कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा सिट जित्न नसकेको नेपाली कांग्रेसले २०७९ सालमा माओवादीसहितका दलसँग गठबन्धन गरी चार सिट हात पारेको थियो। अब आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसले अघिल्लो पटक जितेका चार सिट जोगाउँदै थप नयाँ क्षेत्रमा जित निकाल्ने लक्ष्य लिएको छ।
अघिल्ला निर्वाचन परिणामका आधारमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मुख्य प्रतिस्पर्धी शक्ति मानिन्छन्। यसअघि भएका दुवै निर्वाचनमा गठबन्धन निर्णायक बनेको थियो। तर यस पटक तीनै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले कर्णालीमा वास्तविक शक्ति परीक्षण हुने आकलन गरिएको छ।
२०७९ सालको समानुपातिक मत परिणामअनुसार कर्णालीमा कांग्रेस दोस्रो ठूलो दल हो। एमालेले एक लाख ८३ हजार १३३ मत प्राप्त गर्दा कांग्रेसले एक लाख ८० हजार ९०९ मत पाएको थियो। माओवादी केन्द्रले एक लाख ३५ हजार ४९६ र नेकपा (एकीकृत समाजवादी) ले २५ हजार ५५५ मत पाएको थियो। हाल समाजवादी माओवादीसँग एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ।
सुर्खेतमा नयाँ अनुहार, पुरानो विरासत
अघिल्लो निर्वाचनमा सुर्खेतका दुवै क्षेत्र कांग्रेसले जितेको थियो। क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट हृदयराम थानी निर्वाचित हुनुभएको थियो। यस पटक भने दुवै जना उम्मेदवार छैनन्।
क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्काका सहोदर भाइ विष्णु खड्का र क्षेत्र नं. २ बाट नारायण कोइरालालाई कांग्रेसले उम्मेदवार बनाएको छ। दुवै पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
गत निर्वाचनमा क्षेत्र नं. १ को समानुपातिक मतमा कांग्रेसले ३३ हजार ६०८ मत प्राप्त गरी अग्रस्थान हासिल गरेको थियो, जुन एमालेभन्दा ३ हजार ९१ मत बढी हो। तर यस पटक रास्वपाबाट टेकबहादुर सिंह उम्मेदवार बनेपछि कांग्रेसको मत विभाजन हुन सक्ने विश्लेषण गरिएको छ।
क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ कांग्रेस विजयी भए पनि समानुपातिकतर्फ एमाले अगाडि थियो। एमालेले २५ हजार ८६ मत पाउँदा कांग्रेसले २३ हजार १० मत पाएको थियो। यसले प्रतिस्पर्धा थप कडा हुने संकेत देखाउँछ।
दैलेखमा दोहोर्याउने प्रयास
अघिल्लो निर्वाचनमा कांग्रेसले दैलेख क्षेत्र नं. २ मा जित निकालेको थियो। दिक्पाल शाही २० हजार १८३ मतसहित विजयी हुनुभएको थियो। आगामी निर्वाचनमा पनि कांग्रेसले शाहीलाई नै उम्मेदवार बनाएको छ।
क्षेत्र नं. १ बाट बासना थापा उम्मेदवार हुनुहुन्छ। कांग्रेसले दैलेखका दुवै क्षेत्रलाई जितको सम्भावित क्षेत्रका रूपमा लिएको छ। तर अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा दुवै क्षेत्रमा एमाले पहिलो दल थियो।
यस पटक गठबन्धनबिनाको प्रतिस्पर्धाले कर्णालीको चुनावी गणितलाई नयाँ मोड दिएको छ। कांग्रेसले अघिल्लो उपलब्धि जोगाउनुपर्ने दबाबका बीच नयाँ अनुहारमार्फत मतदाता विश्वास कायम राख्ने चुनौती सामना गरिरहेको छ।










































