कविता: उ आउँदैछ

92

–प्रकाशचन्द्र खतिवडा

आउँदैछ रे भन्छन
पाखा पखेरा चहार्दै
वस्तिहरु नियाल्दै
प्रवासबाट
घरबास तिर
वसन्तका फूलहरु
कानमाथि सिउरिएर
आमा बालाई संझी
अतीतका पीडाको
ऐतिहासिक पुस्तक लेखी
उ आउँदै छ सिङ्गो देश सम्झदै ।

उ आउनु पर्छ भन्छन
सनमान। हर्कमान र कुवेरमानहरु
रामकली, फूलमती र धनसरीहरु
दुःखको झोला बोकेरै भए पनि
उ आउनु पर्छ भन्छन
मूलबाटो नियाल्दै
गोधुली साँझमा
आँखा दौडाएर ।

उ आउँदै छ
बहादुरको प्रतीक चिन्ह
खुकुरी बोकेर
दर्विलो विश्वास
र गर्विलो छाती फुलाएर
विजयको बाँसुरी बजाउँदै
झ्याउरे गीतको तालमा
उकालो चढ्दैछ भन्छन ।

हर्ष विभोरका आँसु बगाएर
खुशीका शब्द साट्दै
उ आउनु पर्ने हो
दुःख सुख बाड्न
उकाली ओराली पार गर्दै ।

दुःखका आँसु
धेरै बगाएकी छन आमाले
आमाको आँसु पुछ्न पनि
उ जरुर
आउनु पर्छ
सपुत भएर उ
आमाको मुहार हसाउँने गरी ।

उनकी पत्नी चम्पाले
वेदनाका गीतहरु
धेरै गाएकी छ
उसको अनुपस्थितिमा
चम्पाले घर व्यवहार धान्दै
धेरै पटक उसलाई सपनीमा देखेर
विपनामा छट्पटाएकी छ

आउनु पर्छ
चम्पाको ओठमा हाँसो छर्दै
घरजम दह्रो बनाउने गरी ।


आउँदैछ
सुनगाभा, लालुपाते

बुकी फूल संग जिस्कदै
चौरी गोठाला संग सेलो गाएर
नागी र धापहरुमा
पिपिरी पात बजाउँदै ।


आउँदैछ
आइपुग्नै लागेको छ भन्छन
भञ्ज्याङ्ग तिर
आँखा लाउँदै गर्नु पर्छ
दलान र पिडिमा
गुन्द्री विछ्याई
राडी हाल्नु पर्छ
स्वागतका माला उन्नु पर्छ
धैला धैलामा
सगुनका पानी भर्नु पर्छ ।


आइपुग्यो

भञ्ज्याङ्गमा निस्कि सक्यो

प्रवास बाट
घरबास आइपुगेको छ
स्वागतको माला यता लेउ
अविर पनि बोक्नु पर्छ
उसलाई अविर जात्रा गरी
फूल माला लगाएर
स्वागत गर्नु पर्छ
सगुनको दही कता छ ?
सगुनको दही ख्वाउनु पर्छ
सारा गाउँ हाँसेको छ
उसको आगमन पछि ।

सुन्दरहरैंचा–०६, दुलारी, मोरङ
९८४२०७३५२५