प्रकाशचन्द्र खतिवडा
म कठपुतली होइन
शासकहरुको
मलाई कारागार राख्दैमा
मर्दैन स्वतन्त्रता
निभ्दैन न्यायको ज्योति ।
अनन्त छ जीवन यात्रा
विशाल समुद्रको गन्तव्य जस्तै
हो म त्यही समुन्द्रको गन्तव्य पछ्याइरहेको छु
महासागर पुग्नलाई
मृत्यु संग डराइ रहेछन मान्छेहरु
म मृत्युलाई चुनौति दिन्छु
मेरो जीवनको अभीष्ट पूरा भएको छैन
मेरो दुःख दूर भएको छैन
द्वन्द्वहरु जिवितै छन
तिमीले घोषणा गरेको शान्ति
केबल मुर्दा शान्ति हो
म तिम्रो शान्ति प्रकृयामा सन्तुष्ट छैन ।
म मेरो आकाश खोशिएर ओतविहीन छु
म मेरो धरती लुटिएर भूमिहीन भएको छु
मलाई मेरो आकाश देउ
मलाई मेरो धरती देउ
म आकाशमा कावा खान चाहान्छु
म धरतीमा सृजना रोप्न चाहान्छु ।
जसले जसरी परिभाषित गरे हुन्छ जिन्दगीलाई
जिन्दगीको परिभाषा खुट्याउनै नसकी
गोता खाइरहेछन मान्छेहरु
म संग पनि जीवनको उचित परिभाषा छैन
म जिन्दगी बाँच्ने औडाहाले
शाक्ति सन्तुलन राख्ने गरी
म जीवन संघर्षको आन्दोलनमा छु ।
तिमी भयभीत भएर
मलाई बाँध्ने छौ
तिम्रा गैरकानुनी डोरीहरुले पाता फर्काइ
मेरो छाला चिर्ने छौ
नुन चुक दलेर
नङमा पिन घोप्ने छौ
उल्टा सुल्टा कानुनका दफा उपदफा पल्टाएर
सर्वस्व हरणको सिफारिस गरी
मलाई मृत्यु दण्ड दिने छौ ।
म हार्ने छैन
तिम्रो ज्यादति संग
तिमी कायर रहेछौ
मान्छे मार्दै
सत्ता टिकाउने
तिम्रो रणनीति
तिम्रो सत्ताको प्रत्युदपादक बन्ने छ
म मरुँला तिम्रो यातनाले
मेरो सन्तान जिवितै छ
तिमी संग लडाइ लड्ने
तिमी रोएर बाँच्ने छौ
तिम्रो चेत नखुले पछि ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
Related