भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रमा फेरी सङ्कट आउन नदिन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले काँग्रेस बलियो बनाउन सङ्गठन बिस्तार गरी गाउँ गाउँ र टोल टोलमा पुर्याउनु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि काँग्रेसले विधानमा टोल इकाई समितिको व्यवस्था गरेको बताउँदै यसले पार्टीको सङ्गठनलाई गाउँ गाउँमा, घरघरमा, वडा वडामा पु¥याएर यो पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
“हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रास रुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी बलियो बनाए मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउन मद्दत पुग्छ । यो पार्टी जति बलियो हुन्छ, जति सक्षम हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा सङ्कट आउँदैन”, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापालाई मन्त्री बनाउनु पर्ने माग सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले सरकार गठबन्धनको भएको र सरकारमा रहेका दलहरूबिच सहमति हुन जरुरी भएकोले कतिपय विषय पार्टीले चाहेर मात्र पुरा नहुने बताउनुभयो । उहाँले मुलुकको संसद्को आकार, निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन आवश्यक भएको बताउँदै त्यस्ता विषयमा सबै राजनीतिक दलको सहमति र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको थियो ।