काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विवाद समाधानका लागि निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो । पार्टीका निवर्तमान प्रमुख सचेतकसमेत रहेका घिमिरेले भन्नुभयो, “वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ । आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ ।”
वार्ता प्रक्रिया जारी रहेकाले केन्द्रीय समितिको बैठक मंगलबार बस्न नसकी बुधबारका लागि सरेको उहाँले बताउनुभयो ।
यसैबीच, कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वयको प्रतिवेदन पारित गरेको छ । विशेष महाधिवेशनले निर्वाचन कार्यतालिकाअनुसार बुधबार निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।






































