कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

0

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम आयोजना हुने भएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। तर, देउवाले उक्त निमन्त्रणालाई अस्वीकार गरेका छन्। संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएको छ।

संस्थापन पक्षले विशेष महाधिवेशनको विरोधस्वरूप आजकै मितिमा जिल्ला सभापति र युवाहरूको अलग भेला आयोजना गरेको छ।

आज उद्घाटन सत्रपछि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिमध्ये जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। यद्यपि, कसले सभापतित्व गर्ने भन्ने विषयमा अन्तिम टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए।

सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना रहेको छ।

पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन्।

आचार्यका अनुसार २०१४ सालमा मोरङमा सम्पन्न विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ जिल्ला सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए। सोही परम्पराअनुसार यस पटक काठमाडौं जिल्ला सभापतिले उद्घाटन सत्रको सभापतित्व गर्ने व्यवस्था गरिएको हो।

विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनमा सहभागी हुन बाहिरका जिल्लाबाट प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइसकेका छन्। उद्घाटन सत्रअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ।