काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिने छ ।
महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा हुने बन्दसत्रको सुरुआत विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट गरिने छ ।
त्यसपछि नौ वटा समूह निर्माण गरी चार प्रमुख विषयमा नीति मन्थन गरिने कार्यसूची तय गरिएको छ ।
उहाँका अनुसार बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयहरूमा विस्तृत छलफल हुनेछ ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा पनि व्यापक छलफल हुने उनले जानकारी दिनुभयो ।
नेतृत्व परिवर्तन गर्ने पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताउनुभयो ।
नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदान गर्नुपर्ने अवस्था नआउने उहाँको धारणा छ।यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ ।
क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उहाँहरूलाई बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।








































