धनगढी | नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले हालैको जेनजी आन्दोलनबाट सिर्जित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र पुनर्निर्माणमा सबैलाई सक्रिय रूपमा सहभागी हुन अपिल गरेको छ।
मुख्यमन्त्री एवम् संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको बैठकले मुलुक अहिले संवेदनशील मोडमा रहेको निष्कर्ष निकाल्दै, लोकतन्त्रको संरक्षण र शान्तिपूर्ण परिवर्तनका पक्षमा सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरेको छ।
दलको बैठकले जेनजी आन्दोलनका युवाहरूले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, दोषीमाथि कारबाही र सुशासन स्थापनाको मागलाई उचित र समयसापेक्ष ठहर गर्दै, ती मागहरू सम्बोधन गर्न प्रदेश तथा संघीय सरकारलाई तात्कालिक र गम्भीर पहल गर्न आग्रह गरेको छ।
बैठकले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ एवम् निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस संसदीय दलले सो आक्रमणलाई लोकतन्त्र, संविधान र कांग्रेसप्रति वितृष्णा राख्ने सङ्गठित समूहको घुसपैठको परिणाम भनेको ठहर गर्दै, दोषीहरूलाई कानूनअनुसार कडा कारबाही गर्न माग गरेको छ। साथै, दुबै नेताको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
भदौ २३ र २४ गते देशका विभिन्न स्थानहरूमा भएको हत्या, आगजनी, लुटपाट, तोडफोड लगायतका हिंसात्मक घटनाको छानबिन गरी त्यसमा संलग्नहरूमाथि कडा कारबाही गर्न प्रदेश तथा संघीय सरकारलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ।
संसदीय दलले जेनजी आन्दोलनको क्रममा प्राण गुमाएका नागरिक, सुरक्षाकर्मी र युवाहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, आन्दोलनका क्रममा उत्पन्न अवस्थाले मुलुकलाई दुखद मोडमा पुर्याएको भन्दै सबै पक्षले संयमता र संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ।
कांग्रेस सुदूरपश्चिम संसदीय दलको यो अपिलले जेनजी आन्दोलनले उजागर गरेका सिस्टमभित्रका गम्भीर कमजोरी, सार्वजनिक आक्रोश, र राजनीतिक अस्थिरताको सम्भावनालाई सम्बोधन गर्दै अघि बढ्न आग्रह गरेको छ। शान्तिपूर्ण परिवर्तन र लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश समेत यो बैठकबाट दिइएको छ।




































