सञ्जीब दुलाल
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने बताएका छन् । प्राधिकरणले स्थानीय सरकार, नेपालको संविधान र वर्तमान ऐन नियमको विपरित काम गरेको भन्दै नगरप्रमुख श्रेष्ठले प्राधिकरण खारेज गर्नुपर्ने बताएका हुन् ।
प्राधिकरणले मध्यपुर थिमि नगरभित्र सञ्चालन भईरहेका जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन समितिको अध्यक्षबाट मध्यपुर थिमि नपाका नगरप्रमुखलाई हटाइ जिल्ला समन्वय समितिका सभापतीलाई नियुक्ती गर्ने निर्णय गरे सँगै प्रमुख श्रेष्ठले प्राधिकरण नै खारेज गर्नुपर्ने बताएका हुन् ।
थिमी नपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरु लगाएत नगरप्रमुख श्रेष्ठले स्थानीय सरकारलाई वाइपास गरेर आफ्नो नगरभित्र कुनै पनि आयोजना अधि बढन नसक्ने बताए । उनीहरुले यदि यसै गरि नगरपालिकालाई नै बाईपास गरेर प्राधिकरण अगाडी बढेमा आफुहरु भने चुप लागेर नबस्ने उनीहरुले चेतावनी समेत दिएका थिए । उनले भने, ‘मुलुक संघिय संरचनामा प्रवेश गरिसकेको छ । सो अनुसार स्थानीय, प्रदेश र केन्द्रिय सरकार गठन भई काम शुरु भईसकेको छ । यस्तो अवस्थामा प्राधिकरणका केही व्यक्तिको कुण्ठीत मनसायले नगरपालिकालाई नै बाईपास गरिन्छ भने यसमा आफुहरु चुप नलाग्ने साथै यस्ता कार्य प्रति आफु चुप नलाग्ने उनीहरुको भनाई थियो ।
आयोजना प्राधिकरणका केही व्यक्तिहरुको भ्रष्टाचारको अखडा बन्दै गएको आरोप लगाउँदै प्रमुख श्रेष्ठले नगर कार्यपालिकाको २१ औं बैठकले तत्कालको लागि कमेरोटार र दिव्यश्वरी आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रिका लागि घरबाटो सिफारिस लगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नको लागि पत्र पठाउने निर्णय गरेको जानकारी दिए ।
मध्यपुर थिमि नगरभित्र प्राधिकरणले सञ्चालन गरेको कमेरोटार र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको विषयमा नगरप्रमुख श्रेष्ठ र प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीबीच लामो समयदेखी आपसी टकराव रहेको छ । नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै आइरहेका छन् भने आयुक्त तिवारी हालकै संरचना अनुसार सञ्चालन हुनुपर्ने अडानमा छन ।
प्राधिकरणको गत जेठ २२ गते सम्पन्न बैठकले मध्यपुर थिमि नगरप्रमुखको कार्य व्यस्तताले कमेरोटार र दिव्यश्वरी आयोजनाको बैठक बस्न नसकेको, त्यसले गर्दा विकास निर्माण, जग्गा व्यवस्थापन स्विकृत जस्ता निर्णय हुन नसकेको कारण देखाउँदैं दुईटै जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षबाट नगरप्रमुख श्रेष्ठलाई हटाउने निर्णय गरेर सोही अनुसार गत जेठ २८ गते परिपत्र गरेको थियो।
तत्कालिन नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था छ । साथै नगरप्रमुख उपस्थित नभएको अवस्थामा अर्थात नगरप्रमुख रिक्त भएको अवस्थामा उपसमितिका सदस्यसचिव समेत रहेका काठमाडौं उपत्यका नगर विकास संयोजक हाल नायव विकास आयुक्तले अध्यक्षता गर्ने व्यवस्था छ ।
तर प्राधिकरणको गत जेठ २२ गते सम्पन्न बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालन भईरहेका कमेरोटार र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षता जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षले गर्ने र आयोजना सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार आयोजना प्रमुखलाई दिने व्यहोरा परिपत्रमा उल्लेख गरेपछि विवाद लम्वीयको हो ।
आयुक्त तिवारी महेश बस्नेत निकट तथा मध्यपुर थिमी नगरपालिका मेयर तात्कालिन एमालेबाट विजयी भएका भएपनि उनीहरुको विचको जुँगाको लडाईका कारण मध्यपुर थिमी नगरपालिकामा संचालन भई रहेका दुई आयोजनामा विवाद रहँदै आएको छ ।
भक्तपुरमा भएका अन्य आयोजनामा भने प्राधिकरणले केहि गर्न नसक्नु तर मध्यपुरका दुई आयोजनामा भने हस्तक्षप गरेपछि मध्यपुर बासी रुस्ठ भएका छन् । उनीहरुले हाल सम्म कमेरेटार र दिब्यश्वरी आयोजनाको लेखा परिक्षण सम्मपनि आयोजनाले नगरेको आरोप लगाउँदै उपभोक्ताको जग्गामाथी प्राधिकरणले खेलवाड गदै ठुलो आर्थिक हिनाविना गरेको उनीहरुको आरोप रहेको छ ।







































