काठमाडौं । काठमाडौं २ नं निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो क्षेत्रलाई वडा, प्रदेश र केन्द्रबाट गरी तीन तहबाट विकास गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिका ३२ नं वडा कार्यालयद्वारा ३२ वडाको पुर्वाधार विकास सम्वन्धी सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य नेपालले २ नं क्षेत्रका समस्या पहिचान गरी प्राथमिकताको आधारमा तीनवटा तहबाट विकास गरिने बताए ।
कुन समस्या वडास्तरबाट सल्टाउन सकिने, कुन प्रदेश तहबाट विकास गरिने र कुन केन्द्रको सहयोग चाहिने त्यसलाई आधार मानेर तहगत रुपमा विकासका काम गरिने उनले बताए ।
सो क्षेत्रमा सडक, वत्ति, खानेपानी, करिडोर, जग्गा अधिग्रहण लगायतका समस्याको समाधानको प्रक्रिया शुरु भईसकेको उल्लेख गर्दै आफ्नो क्षेत्रका जतिपनि विकास निर्माणको काममा खटिने प्राविधिकदेखि इन्जिनियर, कन्सल्टेण्टदेखि ठेकेदारसम्मको आफुले पुरा विवरण राखेर त्यसको अनुगमन गरिने पनि बताए । ‘कसले राम्रो काम गर्यो, कसले गरेन, कसले समयमै काम पुरा गर्यो, कसले गरेन, त्यसको म आफैंले जुनसुकै बेला पनि अनुगमन गर्नसक्छु ’ भन्दै नेता नेपालले काम विग्रेमा त्यसको सजायँ भोग्न सम्वन्धित पक्ष तयार रहन पनि चेतावनी दिए ।
आफ्नो क्षेत्रअन्तर्गत कागेश्वरी मनोहरा नगरमा रंगशाला बनाउन लागेको बताउँदै नेता नेपालले आआफ्नो नगरपालिका, महानगरपालिका र वडामा नमुना काम गर्न जनप्रतिनिधिलाई निर्देशन पनि दिए ।
कार्यक्रममा ३२ नं वडाका अध्यक्ष नवराज पराजुलीले आफ्नो वडामा देखिएका विभिन्न समस्या औंल्याउँदै सम्वन्धित सरोकारवालाले समयमै त्यसको समाधान गर्न निर्देशन दिए ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपि सन्तोष सिंह राठौर, महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामा, मनोहरा जग्गा एकिकरण आयोजना, नागरिक उडड्यन प्राधिकरण, नेपाल दुरसञ्चार प्राधिकरण, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका खानेपानी आयोजना, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, ट्राफिक प्रहरी लगायतका प्रमुखहरुले आआफ्नो क्षेत्रमा उठेका प्रश्नको जवाफ दिएका थिए । महानगरको ३२ नं वडाका सदस्यद्धय सरीता दाहाल र हीरादेवी पोखरेलले पनि स्थानीय जनताका समस्याबारेमा प्रकश पारेका थिए ।







































