कामै नगरी २० लाख रुपैयाँ भुक्तानी

250

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले काम नै नगरी २० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको विकासे कामको छानबिन गर्न गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सो रकम ठेकेदारलाई भुक्तानी गरेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘नगर सभाबाट खोला खहरे, नदी किनारा संरक्षण कार्यक्रमका लागि छुटाइएको २० लाख रुपैयाँ काम नै नगरी बिल भर्पाइ गरेर दुरुपयोग गरेको देखिन्छ ।’ चन्द्रपुर नगरपालिकामा गत वर्षको विकास निर्माणमा अनियमिता भएको छानबिन समितिले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । सम्मेलनमा छानबिन समितिका संयोजक जंगबहादुर घलानले हरेक विकास निमार्णका काममा अनियमिता भएकोे बताए । विगत चार वर्षदेखि नगरपालिकामार्फत सञ्चालन हुँदै आएको जेसीबीको हिसाबकिताब नै शून्य भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म सो जेसीबी ३ हजार घण्टाभन्दा बढी चलिसकेको छ ।

प्रतिवेदनमा अधिकांश योजनामा अनियमितता भएको उल्लेख छ । सफा र सभ्य चन्द्रपुर हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर बनाउने उद्देश्यका साथ तय भएको नाराअनुसार नगरपालिका तथा वडा कार्यालयले काम नगरेको प्रतिवेदनमा उल्लेख छ । निर्माण गुणस्तरहीन, कमसल, लागत दरभन्दा फरक, निर्माण नगरी नै भुक्तानी दिएको पनि समितिले जनाएको छ । प्रतिवेदनमा वडा अध्यक्षहरूले सदस्यसहितको बैठक नराखी बजेट खर्च गरेको, सार्वजनिक सुनवाइ नगरेको, आम्दानी तथा खर्चको विवरण सार्वजनिक नगरेको, नगरसभाबाट विनियोजित भएका शीर्षकभन्दा अन्य शीर्षकमा मनोमानी ढंगले बजेट खर्च गरेको जनाइएको छ ।

समितिको प्रतिवेदनमा शहीदपार्कमा निर्माण गरेको पोखरीमा लागत रकम कम गरेको, वडा नम्बर १ को पौराई ब्रह्मस्थानको पर्खाल निर्माण गर्दा सोही मन्दिरको स्वामित्वमा रहेका पहिलेकै ढुंगा प्रयोग गरिए पनि भुक्तानी नयाँ ढुंगाको भएको उल्लेख छ । माथिल्लो चौधरी टोलको पोखरी मर्मत कार्यमा अनियममितता भएको, वडा नम्बर ७, ९ र १० मा शौचालय निर्माणका लागि रिङ खरिदमा अनियमितता भएको, वडा नम्बर ५ को मुस्लिमटोलमा नाला र बाटो स्तरोन्नति कार्यका लागि ५ लाख विनियोजन भएकोमा बाटो मर्मत नगरी पूर्णरूपमा नाला सफा नगरी रकम अनियमितता गरेको विषयले पनि महŒव पाएको छ ।

भवन निर्माणका लागि ११ लाख र पोखरी निर्माणमा ५ लाखमा पुरानै पोखरी देखाएर रकम हिनामिना गरेको, वडा नम्बर ४ को मुस्लिमटोलको सडक ग्राभेलमा ५७ हजार ५ सय खर्च भएकोमा १ लाख ३० हजार देखाई भुक्तानी गरेको समितिले जनाएको छ । युनिसेफको सहयोगमा सञ्चालित ६ महिने किशोरी शिक्षा कार्यक्रम एक महिनामै सकेर अनियमितता गरेको, वडा नम्बर ६ मा डाबरी पानी मुहान संरक्षणमा अनियमितता भएको लगायतका २६ वटा योजनामा व्यापक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले गतवर्ष सञ्चालित २६ वटा योजनाको अनुगमन तथा छानबिन गरेको थियो । गत आर्थिक वर्षमा चन्द्रपुरका १० वडाहरूमा करिब १ हजार सानाठूला योजनाहरू सञ्चालन गर्न ३३ करोड करिब रकम विनियोजन भएको थियो । हरेक वडालाई २ करोडका दरले रकम छुट्याइएको थियो । रकम अनियमितता भएको गुनासो बढेपछि यस आवको परिषद् हुन नसकेपछि कार्यपालिका सदस्य जंगबहादुर घलानको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो ।