प्यासी
काठमाडौं । भनिन्छ, काल नआउँदा केहीगरे पनि मरिन्न, तर काल आएपछि अस्पताल पुग्दा पनि बाँच्न सकिन्न । यस्तै घटना भएको छ मिनभवनमा शनिबार विहान ९ बजे ।
शनिबार विहान मिनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालको प्रवेशद्धारको सामुन्ने मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकलाई आधा मिनेटको दुरीमा रहेको अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्याउन पनि पाइएन ।
अस्पताल अगाडि मोटरसाइकल दुर्घटना हुँदा पनि अस्पतालको उपचार नपाई मृत्यु हुनेमा स्वयम्भु ठुलो भर्याङ्ग का १९ वर्षिय सुरज महर्जन रहेको प्रहरीले जनाएको छ । उनी नयाँबानेश्वर चोकबाट कोटेश्वरतिर मोटरसाइकलमा जाँदै थिए ।
सिभिल अस्पतालको सामुन्ने खुल्ला ठाउँबाट शान्तिनगरतिर जानका लागि मोडिँदै गरेको बा ३९ प ४३९९ को मोटरसाइकलसंग नयाँबानेश्वरबाट कोटेश्वरतिर जाँदै गरेका सुरज महर्जनले चलाएकोे बा ७६ प ६९०० नम्बरको मोटरसाइकल ठोक्किएपछि तिव्र गतिमा रहेको उनको मोटरसाइकल अनियन्त्रित भएर सडकमा लडेको र सुरज भने सडक किनारमा रहेको विजुलीको खम्वामा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भइसकेको आशंका गरिएका घाइते सुरजलाई बचाउन सकिन्छ की भनेर सिभिल अस्पतालमा उपचारको लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले बताए ।
सुरजले चलाएको मोटरसाइकलको पछाडि बसेकी स्वयम्भु ठुलो भर्याङ्गकै १९ वर्षिया रुक्सना श्रेष्ठलाई भने सामान्य चोटपटककोमा उपचारपछि घर फर्केकी छिन ।
सोही घटनामा सुरजको मोटरसाइकलसंग ठोक्किएका अर्काे मोटरसाइकल चालक झापा धाइजन घर भई शान्तिनगर बस्दै आएका ३५ वर्षिय पुरोहित कुमार खनाल पनि साधारण उपचार पछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।







































