किसानलाई यन्त्रको ज्ञान नभएसम्म यान्त्रिकरण अनुचित

454

भक्तपुर । किसानलाई यन्त्रको विषयमा ज्ञान दिन नसकेसम्म यान्त्रिकरण लागु गर्नु अनुचित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख किशोर पराजुलीले बताउँछन् ।

उनका अनुसार हाल विभिन्न दात्री निकायले ५० प्रतिशत देखि १०० प्रतिशत सम्म अनुदानमा प्रदान गर्दै आएका यन्त्रहरुको सामान्य सम्म पनि प्रयोग र यन्त्रको विषयमा मर्मत संभार एवं विभिध प्रयोगको विषयमा ज्ञान नहुँदा यन्त्रिकरण कानो गोरुलाई औंशी न पुर्णिमा जस्तै भएको उनी बताउँछन् ।

यसैले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले वीटीएल ट्रेड लिमिटेडको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९का ५० जना किसानहरुलाई यन्त्रको विविध प्रयोग एवं यसको मर्मत सम्भार सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ ।

एकै मेसिनवाट बहुउपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान दिन नै कार्यक्रमको आयोजना गरिएको पराजुली बताउँछन् ।
खेत जोत्ने कामका रुपमा मात्र प्रयोग गर्दै आईएको पावर टेलहरुवाट आलुको ड्याङ पार्न , पानी तान्ने मेसिनका रुपमा प्रयोग गर्न , अन्न बताउने , विउ रोप्ने , आलु उकेरा लागाउने , आलु खन्ने मेसिनका रुपमा पनि प्रयोग गर्न सकिन्छ तर किसानलाई यसको विषयमा थाहा नहुँदा एक प्रयोग मात्र गर्दै आएको वीटीएल ट्रेड लिमिटेडका संचालक समितिका अध्यक्ष सन्तोष कृष्ण श्रेष्ठ वताउँछन् ।

उनका अनुसार हाल नेपालका विभिन्न विकट एवं सवै जिल्लामा मेसिनहरु भने पुगेका छन् तर किसानलाई यसको विषयमा थाहा नहुँदा विभिन्न कामका लागि अलग अलग मेसिन किन्ने गर्दा किसानको बढि खर्च हुँदै आएको र उत्पादनमा भने खासै फरक नपरेको उनी बताउँछन् ।

यसै कारण किसानलाई बढि उपकरण खरिद गर्न प्रेरित गर्नु भन्दा भएका उपकरणवाट नै बहु उपयोग गर्न सिकाउनुका साथै मेसिनमा सामान्य समस्या आउँदा आफै समाधान गर्न सकुन भन्ने हेतुले तालिम प्रदान गरिएको उनी बताउँछन् ।

उनीहरुले मर्मत गर्न नसक्दा उक्त मेसिनहरु थन्कने गरेको छ यसको समाधानको लागि किसान आफैलाई मेसिनको समान्य मर्मत देखि बहु उपयोगको विषयमा ज्ञान दिन आफुहरु लागि परेको उनले बताए ।

किसानलाई यान्त्रिकरणको प्रयोग गर्दै कम लगानीमा बढि उत्पादन गर्न सिकाउनुका साथै आफु सँग भएका मेसिनलाई बहु उपयोग तथा मर्मत सम्भार समेत आफै गर्न सिकाउन कार्यालयले किसानहरुलाई दुई दिने तालिम प्रदान गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्राविधिक साहयक अर्जुन चौलागाईले जानकारी दिए ।

उनका अनुसार कृषिमा बढि उत्पादनमा जोड दिन साथै विशेष गरि महिला किसानलाई यन्त्रिकरणको विषयमा आफै आत्म निर्भर बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमहरु सँचालन गरिएको उनले जनाए ।