कुनै एजेण्डाबिना नेपाल भ्रमणमा आएकी शुष्मा स्वराज

315

काठमाण्डाै । भारतीय विदेशमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा आएकी छिन् ।

स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आएकी हुन् । विशेष विमानबाट आएकी विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरे । त्यस्तै परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी तथा भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि स्वराजलाई स्वागत गरे ।

नेपाल आएलगत्तै संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिंदै स्वराजले नेपाल र भारतबीचकाे सम्बन्ध मित्रवत रहेको भन्दै आफ्नो भ्रमण भेटघाटका लागि मात्र भएको बताइन् । उनले कुनै एजेण्डाबिना नेपाल भ्रमणमा आएको बताइन् ।

भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरू पनि नेपाल आएका छन् । दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हित प्रवर्द्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई दिएका थिए ।