Home समाचार कृषिको बजेट अनेत्र लैजानु नीतिगत अनियमितता :कृषक
भक्तपुर । कृषिको बजेट अनेत्र लैजानु स्थानिय निकायको नीतिगत अनियमितता भएको किसानले आरोप लगाएका छन् । राष्ट्रिय कृषक समुह महासंघ नेपाल भक्तपुर कार्य समितिले भक्तपुरमा अयोजित नगरपालिका र कृषि बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रममा किसानले स्थानिय निकायले कृषिको बजेट अनेत्र लैजानु नीतिगत अनियमितता भएको आरोप लगाएका हुन् ।
कार्यक्रममा भक्तपुरका चारै नगरपालिकाका किसानले राजनैतिक दलले निर्वाचनमा आफ्नो घोषणपत्रमा किसानका विषयमा बोले पनि ब्यवहारमा भने देशै भर नदेखाएको आरोप समेत लगाएका थिए । उनीहरुले भक्तपुर जिल्लाका चारै नगरपालिकाका जनप्रतिनिधिहरुलाई ७० प्रतिशत मानिस कृषि पेशामा नै आश्रीत भएपनि कृषककै बजेटमाथी किन खेलवाड गरिएको भन्ने प्रश्न गरेका थिए ।
महासंघको आयोजनामा गरिएको उक्त अन्तक्रियामा कृषकका प्रश्नको जवाफ दिदै चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले आफुहरु नयाँ भएकाले यस्तो त्रुटी भएको वताउँदै आफु पन्छिएका थिए ।
उनले छोटो समयमा बजेट विनियोजन गर्नु पर्ने तथा कृषि मन्त्रालयले तथा जिल्ला कृषि लगाएतका कुनै पनि कार्यालयले कृषि बजेटका सम्वन्धमा कुरा नउठाएका कारण कृषि पशु लगाएतका को बजेटमा देश भरि नै त्रुटी भएको बताउँदै आफु पन्छीएका थिए ।
उनले कार्यक्रममा अव हुने परिषदवाट भने अन्य क्षेत्रको बजेटलाई रकमान्तरण गरेर भएपनि कृषि पशु लगाएतका बजेट उपलब्ध गराउने प्रतिवद्दता गरेका थिए ।
मेयर मिश्रले आगामी दिनमा नगरपालिकाले निःशुल्क रुपमा नगरपालिकामा रहेका बास्तविक किसान र विषेश गरि महिला कृषकहरुलाई उद्येमी बन्ने प्रेरण गर्ने प्रलोभन देखाउँदै विगतको गल्तीलाई ढाकछोप गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नवराज ज्ञेलालले हाल बास्तविक किसान भन्दा पनि सुटेट बुटेट किसानले गर्दा किसानको बास्तविक समस्या समाधान हुन नसकेको बताएका थिए ।
उनले अवका दिनमा पनि राजनीतिक पहुँचका अधारमा चिनजानका आधारमा र पावर अनि पैसाका भरमा अवाश्तविक किसानले नै नगरपालिकामा आफ्नो बाहुल्यता जमाउने हुन् कि भन्ने डर भएको बताउँदै यसको प्रत्यक्ष निगरानी कृषक महासंघ लगाएत आफुहरुले पनि गर्नु पर्ने बताए ।
उनले विगतका दिनमा किसानका लागि आएको आधुनिकिकरणका उपकरण हरु जुन सहुलियत दरमा किसान समक्ष आए पनि विचमा विचौलिया र कर्मचारीको मिलेमत्तोमा रकम बढि पर्ने समस्याको भने अव समाधन हुनु पर्नेमा जोडा दिएका थिए ।
कार्यक्रममा सुर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले पनि स्थानिय निकायको निर्वाचन सकिएको केहि समयमा नै बजेट विनियोजन गर्नु पर्ने तथा छोटो समय रहेका कारण मन्त्रालयले समन्वय नगर्दा पनि कृषिको बजेट छुट्न गएको बताईन । आगामी दिनमा यस्तो गल्ती नहुने समेत उनले बताईन ।
यस्तै कार्यक्रममा आफ्नो लाचारी छोप्दै जिल्ला कृषि कार्यालयकी प्रमुख पुर्णा ढुंगानाले कृषिको बजेटका सम्वन्धमा आफुहरुलाई पनि केहि थाहा नभएको बताईन । उनले कृषिको बजेट छुटेको केवल कर्मचारी नगरपालिकामा नै गएपछि मात्र आफुहरुले थाहा पाएको वताएकी थिईन ।
यस्तै जिल्ला सहकारी संघका अध्यक्ष सनिस लाजेजुले २० वर्ष देखि कर्मचारीलाई दोष दिएपनि जननिर्वाचित पधाधिकारी आउँदा पनि केहि उल्लेख्य उपलब्धीको भान नभएको आरोप लगाएका थिए ।
उनले जुन जोगी आए पनि कानै चिरेका भन्ने पारामा हाल स्थानिय निकायले गरेको गल्ती जानी वुझि नै भएको आरोप लगाएका थिए । उनका अनुसार निर्वाचनमा आफ्नो घोषणापत्रमा उल्लेख गरेकै कुरा अनी ७० प्रतिषत जनताको लगानी रहेको कृषिमा ला हामीलाई त थाहै भएन छुटेछ भन्नु आफैमा लाजमर्दो एवं नितिगत अनियमितता भएको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा सभापतीत्व गरि रहनु भएका राष्ट्रिय कृषक समुह महासंघ नेपाल भक्तपुर कार्य समितिका अध्यक्ष टेक वहादुर लाखाले जनप्रतिनिधिहरुलाई आगामी दिनमा ७० प्रतिशत मानिस आश्रृत कृषि क्षेत्रलाई अपहेलना नगर्न आग्रह गरेका थिए ।
Related