कैलाली । छठ पर्वको अवसरमा कैलालीको धनगढीस्थित मोहना नदीतटमा आयोजना हुने छठपूजामा यस वर्ष भक्तजनको भीड थपिएको छ।
छठपूजा सेवा समिति धनगढीले विगत १३ वर्षदेखि यो धार्मिक पर्व भव्यताका साथ आयोजना गर्दै आएको छ।
समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार सुरुवाती वर्षहरूमा पाँचवटा पालसहितको पूजा घर बनाएर सुरु गरिएको यो पर्व अहिले करिब २६० वटा पूजाकक्षमा विस्तार भएको छ। सुरुमा करिब रु. ३५ हजारमा सम्पन्न हुने पूजा हाल रु. १५ लाखसम्मको खर्चमा सम्पन्न हुने गरेको उहाँले जानकारी दिनुभयो।
समितिले स्थानीय तह, उद्योगी–व्यापारी, विभिन्न संघ–संस्था तथा सर्वसाधारणबाट सहयोग संकलन गरी हरेक वर्ष पूजा आयोजना गर्दै आएको छ। सुरुमा सुनसान देखिने पूजास्थल पछिल्ला वर्षहरूमा करिब एक लाख दर्शनार्थी र भक्तजनले भरिने स्थल बनेको छ।
“पहिले यो पर्व मुख्यतः मिथिला समुदायमा सीमित थियो,” अध्यक्ष मण्डलले भन्नुभयो, “तर अहिले विभिन्न समुदायका मानिस पनि निराहार व्रत बसेर श्रद्धापूर्वक पूजामा सहभागी हुने गर्छन्।”
उहाँका अनुसार यस वर्ष मोहना नदीतटमा ३०० भन्दा बढी परिवारले पूजा गर्ने तयारी गरेका छन् भने करिब दुई हजार भक्तजनले सूर्यनारायणलाई फूल र जल अर्पण गर्नेछन्।
समितिका उपाध्यक्ष रोशनकुमार कर्णले छठ पर्व सुरु हुनुभन्दा एक महिना अघिदेखि नदीतट सरसफाइ, सजावट र तयारी सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिताले पूजास्थलको रौनक बढाएको छ।
यस वर्षका लागि मोहना नदीतटमा २५६ पूजाकक्ष निर्माण गरिएको छ। ती पूजाकक्ष पाल, बत्ती, रंगीन माला र पताकाले सजाइएका छन्। भक्तजन र दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार र पण्डाल निर्माण गरिएको छ। पण्डालमा बसोबास, भजन–कीर्तन, नाचगान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति हुने बताइएको छ।
नेपालका विभिन्न क्षेत्रबाट आएका मूर्तिकारहरूले सूर्य देवको प्रतिमासहित विभिन्न देवीदेवताका मूर्ति निर्माण र सजावटको काम अन्तिम चरणमा पुगेको छ।
पारिवारिक सुख–शान्ति, दीर्घायु, समृद्धि, रोगमुक्ति तथा मनोकाङ्क्षा पूर्तिको कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वमा पोखरी, तलाउ र नदीतटहरूमा भक्तजनको व्यापक भीड लाग्ने परम्परा रहिआएको छ।






































