‘कौन बनेगा करोडपति’का नाममा ठगी गर्ने ३ जना पक्राउ

378

बुटवल– ‘कौन बनेगा करोडपति’बाट भारतीय रुपैयाँ २५ लाखको लक्की ड्र परेको भन्दै सोझा व्यक्तिहरुलाई ठगी गर्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

पीडितहरुको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका १ बस्ने २४ वर्षीय अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ बस्ने २४ वर्षीय नै विराज भन्ने इवरार हुसेन शेष र मायादेवी गाउँपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय राधेश्याम कोइरी रहेका छन्।

उनीहरुले लक्की ड्र मा परेको रकम भारतबाट नेपाल पठाउन बैंक सेक्युरिटीका लागि तत्काल ६० हजार रुपैयाँ पठाउनुपर्छ भनी सर्वसाधारणको मोबाइलमा इमो मार्फत जानकारी गराई मनि ट्रान्सफरबाट रकम पठाउन लगाएर ठगी गर्दै आएका थिए।

पक्राउ परेकाहरुलाई ठगी मुद्दामा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। उनले ठगी प्रकरणका केही फरार व्यक्तिको खोजी कार्य भइरहेको पनि जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरुले बुर्तिवाङ बाग्लुङका नरविर चलाउनेबाट ३० हजार ३ सय, बर्दिबासका नविनकुमार राउतबाट ३७ हजार ५ सय, अमरदहका वसन्तकुमार राजवंशीबाट ३० हजार, चावहिल काठमाडौंका टीकादेवी पुलामी मगरबाट ६० हजार, गोर्खाका लक्ष्मी सुनारबाट २५ हजार, स्याङ्जाका दीपक दर्जीबाट ३५ हजार, म्याग्दीका दुर्गा चोचाङ्गीबाट पटक-पटक गरी ७५ हजार, काठमाडौंका टोपिन्द्र प्रसादबाट ६० हजार,  काठमाडौंका सुरेश रामबाट ३० हजार, सर्लाहीका मनिषा श्रेष्ठबाट ४० हजार, सिन्धुपाल्चोकका नुर्पु तामाङबाट  ४४ हजार ७ सय, दानापुर कञ्न गाउपालिका १ की सविता थापाबाट २५ हजार र पर्वतका सुनिलबाट २९ हजार ७ सय गरी ५ लाख २२ हजार ४ सय ठगी गरेको प्रहरीले जनाएको छ।