क्षयरोग केन्द्रमा सरकारकै सिण्डीकेट ! ‘विदेश भ्रमण, भत्ता र इन्धन कमाइको स्रोत’

440

बलराम प्यासी
काठमाडौं ।
यातायात क्षेत्रमा विगत लामो समयदेखि जारी मनोमानी (सिण्डीकेट) त सर्वसाधारणले देख्दै र भोग्दै आएका हुन । तर सरकारी निकायमै सिण्डीकेट चल्छ भन्ने सुन्दा भने जोकोहीलाई अचम्म लाग्छ ।

कुनै समय स्वास्थ्यको पहिलो सफल कार्यक्रमको रुपमा स्वदेश र विदेशमा चर्चित राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम स्वास्थ्य मन्त्रालयकै ‘सिण्डीकेट’का धरापमा पर्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका केही अधिकारीको ‘आर्थिक स्वार्थ’ का कारण क्षयरोग कार्यक्रम बुझेका व्यक्तिलाई निर्देशकको जिम्मा नदिई कार्यक्रम नै नबुझेका र बाहिरी व्यक्तिलाई निर्देशक नियुक्ति गर्दा ‘सफल कार्यक्रम’ धराशायी बन्दै गएको हो ।

कार्यक्रम बुझेको एकतह मुनि (१०औं तह) को व्यक्तिलाई केन्द्रको निमित्त निर्देशक दिनुभन्दा जतिसुकै भ्रष्ट भएपनि ‘कार्यक्रम नबुझेको, तर ११ तहकै व्यक्ति पठाउनुपर्छ’ भन्ने स्वास्थ्य मन्त्रालयको ‘गलत मनशाय’का कारण केन्द्र धराशायी बन्दै गएको हो ।

त्यसो त केन्द्रमा १० औं तहका डा.काशिकान्त झा, डा. पुष्पा मल्ल, डा.केशव भक्त श्रेष्ठ र डा.दीर्घसिंह बमले सफलतापुर्वक केन्द्रको निमित्त निर्देशक भएर सफलतापुर्वक काम गरिसकेका छन ।

‘सिण्डीकेट’ को पछिल्लो उदाहरण, सो केन्द्रको निर्देशक नियुक्तिमा स्वास्थ्य मन्त्रालयले गरेको निर्णय हो । केन्द्रमा हुने गरेका करोडौं रुपैँयाको आर्थिक चलखेल र त्यससंग सम्वन्धित फाइल लुकाउन केन्द्रमा स्वास्थ्य मन्त्रालयका ‘माथिल्लो तहकै अधिकारी’ बाट आफ्नो स्वार्थ अनूकूल गरिएका निर्देशक नियुक्तिले त्यहाँको ‘सिण्डीकेट’ प्रमाणित गर्छ । ८५ करोड रुपैयाँभन्दा बढी वार्षिक वजेट रहेको क्षयरोग केन्द्र स्वास्थ्य मन्त्रालयको ‘भन्सार’को रुपमा चिनिन्छ ।

केन्द्रको वजेट र कार्यक्रममा मन्त्रालयका कर्मचारी पटकपटक विदेश जान पाउनु, मन्त्रालयमै बसीबसी केन्द्रबाट ‘भ्रमण आदेश’ बनाएर मासिक हजारौं रुपैयाँ कमाई गर्नु, समय समयमा नियमितरुपमा इन्धन लिन पाउनु सरकारी अधिकारीको स्वार्थ रहेको छ ।

पछिल्ला ५ वर्ष मन्त्रालयको स्वार्थमा केन्द्रमा ‘एउटैै समूह’का व्यक्तिहरु निर्देशक बनेका र हरेक २÷२ वर्षमा सरुवा हुनुपर्ने केन्द्रका लेखा तथा प्रशासन शाखाका कर्मचारीको पनि सरुवा नभएकोले पनि यसकुराको पुष्टि गर्छ ।

२०७१ सालदेखि १९ चैत २०७४ सम्म काम गरेका निर्देशकहरुको फेहरिस्त हेर्ने हो भने केन्द्रको करोडौ रुपैयाँ वजेटको लोभ र सो रकम दायाँवायाँ गर्दाको ‘पोल खुल्ने’ डरले मन्त्रालयले एउटै समूहका एकपछि अर्काे व्यक्तिलाई पटकपटक वाहिरबाट निर्देशक बनाएर पठाउने गरेको तथ्य पाइएको छ ।

त्यतिमात्रै नभई केन्द्रको प्रशासनमा भएका थुपै्र लापरवाही समेत मन्त्रालयका सचिव र अनुगमनका अधिकारी मिलेर फाइल लुकाउने गरेको पाइएको छ ।
केन्द्रको काममा कतै जानुपरेमा स्वास्थ्य मन्त्रालयका अधिकारीको स्विकृतिमा भ्रमण आदेश लिएरमात्रै जानुपर्ने नियम हुँदाहुँदै गत माघमा केन्द्रका तत्कालिन निर्देशक डा.केदार नरसिंह केसी आफैंले भ्रमण आदेशमा हस्ताक्षर गरेको, उनकै निर्देशनमा केन्द्रका २ जना अनमि अधिकृतले केन्द्रको हाजीरकापीमा अग्रिम हाजीर गरेको ‘प्रमाण’ पाउँदा पनि स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले दोषिलाई कारवाही नगरेको बताइन्छ ।

केन्द्रमै कार्यरत दोस्रो वरिष्ठताका इमान्दार क्षयरोग वीज्ञ (कन्सल्टयाण्ट) लाई निर्देशकको जिम्मेवारी नदिई स्वास्थ्य मन्त्री, सचिव या मन्त्रालयका माथिल्लो अधिकारीलाई आर्थिक प्रभावमा पार्न सक्ने व्यक्ति या उनीहरुका नातागोता नै पछिल्लो समयमा केन्द्रको निर्देशक बन्ने प्रवृत्ति हावी भएको छ ।

२०६९ साउनदेखि २०७१ भाद्रसम्म केन्द्रका निर्देशक रहीसकेका डा.राजेन्द्रप्रसाद पन्तलाई २० चैतदेखि केन्द्रमा दोस्रोपटक पठाइएपछि मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरुको स्वार्थी कर्तुत सार्वजनिक भएको हो ।

डा.पन्तपछि २०७१ असोजदेखि २०७३ फागुनसम्म डा.विकास लामिछाने सो केन्द्रको निर्देशक बनेका थिए । उनकोे कार्यकालदेखि फष्टाएको केन्द्रको भ्रष्टाचार त्यसपछि बनेका अरु ३ जना निर्देशकले ढाकछोप गर्दै फाइल लुकाउँदै आएका केन्द्रका कर्मचारी बताउँछन ।

डा.लामिछानेपछि आएका सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रका निर्देशक डा.शरच्चन्द्र वर्मा र तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको तोकमा आएका डा.केदार नरसिंह केसीले पनि डा.लामिछाने सहितको टोलीले गरेको केन्द्रको आर्थिक अनियमितता लुकाएर गएका थिए । एकपछि अर्काेले केन्द्रलाई दुहुनो गाइको रुपमा दुहुँदै आएका छन भने पुराना निर्देशकहरुको ‘अनुभव’ लिएर केन्द्रको बजेट सक्दै आएका छन् ।

करीव ११ महिना स्वास्थ्य सेवा विभागको निमित्त निर्देशक बनिसकेका डा.पन्त २० चैतदेखि सो केन्द्रको ‘स्वतः निर्देशक’ बनेर हाजीर गर्न थालेपछि केन्द्र गत दुईहप्तादेखि आधिकारिक हाकिमको खोजीमा छ । डा.पन्त ६ वर्षअघि केन्द्रको निर्देशक भई २ वर्ष काम गरेका थिए ।

यतिखेर केन्द्रमा वरिष्ठताको आधारमा ३० वर्षदेखि १० औं तहमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा.मोहन कुमार प्रसाई स्वतः निमित्त निर्देशक छन भने, डा.पन्त स्वघोषित । २० चैतदेखि केन्द्रमा २ जना निर्देशक हुँदा पनि मन्त्रालयका स्वास्थ्य मन्त्रीले चासो दिएका छन, न स्वास्थ्य सचिवले फाइल उठाउने काम नै गरेकी छिन् ।