काठमाडौं ।
नेपाल क्षयरोग निवारण संस्थाको ३८ औं केन्द्रीय अधिवेशन सर्लाहीमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै २ नं प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संस्थाद्वारा स्थापित विभिन्न पुरस्कारहरु वितरण गरे ।
प्रमुख अतिथि कायस्थले संस्थाद्वारा हरेक वर्ष प्रदान गर्दै आएको ५ हजार राशीसहितको ‘ओत्सुका जापानी पुरस्कार’ संस्थाको संखुवासभा जिल्ला शाखाका सभापति नारायण कटुवाल, बाँके जिल्ला शाखा तथा उत्कृष्ट कर्मचारीतर्फ संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीद्वय प्रतिक्षा नेपाल र जुनु बुढाथोकीलाई प्रदान गरे ।
यसैगरि स्व.नारायण गोविन्द अमात्यको स्मृतिमा स्थापित १५ हजार राशीसहितको ‘स्व.नारायण गोविन्द अमात्य स्मृति पुरस्कार’ नेपाल सरकारका पुर्व स्वास्थ्य सचिव एवम् वरिष्ठ छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमलाई प्रदान गर्ने घोषणा गरिएतापनि अस्वस्थताका कारण डा.बम कार्यक्रममा उपस्थित हुन सकेनन ।
संस्थाको अर्काे कुनै कार्यक्रममा डा.बमलाई सो पुरस्कार प्रदान गरिने संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले बताए ।
स्वर्गीय डा.अमात्यको स्मृतिमा संस्थाको व्यवस्थापनमा उनको परिवारले सो पुरस्कार कोष स्थापना गरेका थिए । पुरस्कारको व्यवस्थापन तथा छनौटको काम संस्थाले गर्दै आएको छ ।
कार्यक्रममा प्रदेशप्रमुख कायस्थ, २ नं प्रदेशका कृषिमन्त्री योगेन्द्र यादव संस्थाका केन्द्रीय अध्यक्ष प्रधान,महासचिव मदनकाजी श्रेष्ठ तथा त्यस क्षेत्रका स्थानीय तहका प्रमुख र राजनैतिक दलका नेताहरुले बोलेका थिए ।







































