“गरिबीको रेखामुनि कुनै नागरिक बस्न नपरोस् : मन्त्री पौडेल”

0

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनि नागरिक गरिबीको रेखामुनि बस्न नपरोस् भन्ने लक्ष्यका साथ प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा रहेको एकीकृत माझी बस्तीको झमला देवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै मन्त्री पौडेलले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री पौडेलले बस्ती हस्तान्तरण प्रक्रिया पूरा नहुँदै यहाँका नागरिक बैंकको कालोसूचीमा परेको सुन्नु दु:खद भएको उल्लेख गर्दै, नेत्रज्योति कृषि सहकारी संस्थामार्फत स्थानीयलाई तालीमको व्यवस्था गरी रोजगारी सिर्जना गर्ने पहल भएको जानकारी दिनुभयो।
उहाँले बस्तीका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अघि बढ्न सबैलाई आग्रह गर्दै, कालोसूचीबाट बस्तीलाई हटाउन प्रदेशका सम्बन्धित माननीयहरूसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले माझी समुदाय कालोसूचीमा परेको विषयप्रति वडा कार्यालय गम्भीर रहेको र यसको समाधानका लागि निरन्तर पहल भइरहेको बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति टङ्क कार्कीले केही व्यक्तिको स्वार्थका कारण सम्पूर्ण समुदायलाई नकारात्मक प्रभाव पर्नु गलत भएको उल्लेख गर्दै, समस्या समाधानका लागि काँग्रेस तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो।
उहाँले वास्तविकता अझै स्पष्ट नभएकाले कसैलाई दोषारोपण गर्न नहुने पनि बताउनुभयो।

उद्योग वाणिज्य संघका प्रतिनिधि भूपेन्द्र थापाले विद्यार्थीहरूको लागि सामग्री वितरणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै, बस्तीको समग्र विकासका लागि आफूले सक्ने योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

समाजसेवी भूपेन्द्र थापाको विशेष पहलमा लायन्स क्लब चौताराका अध्यक्ष रबिन गौतम, पूर्व अध्यक्ष भगवान् खड्का, कविन्द्र दुलाललगायतको टोलीले ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेका थिए।

कार्यक्रम विद्यालयका प्रिन्सिपल लालबहादुर श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो भने सभापतित्व व्यवसायिक समितिका अध्यक्ष मिलन माझीले गर्नुभएको थियो।